AArya
RUMPUM
animated ellipse animated ellipse

मोरङ–६ को कांग्रेसमा अधिवेशन झडप , कार्यवाहक सभापतिसहित तीन घाइते

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ आश्विन २०८३, बुधबार १६:१५
90
Shares
विराटनगर / नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ को क्षेत्रीय अधिवेशनका क्रममा बुधबार संस्थापन र इतर समूहका कार्यकर्ताबीच उग्र झडप भएको छ ।

सुन्दरहरैँचामा आयोजित अधिवेशनमा क्रियाशील सदस्यताको विषयलाई लिएर भएको तोडफोड र कुटपिटपछि अधिवेशन प्रक्रिया नै अनिश्चित बनेको छ ।

झडपका क्रममा कांग्रेस सहमहामन्त्री डा. डिला संग्रौलामाथि समेत हातपात र दुर्व्यवहार भएको छ । यस्तै, कुटपिटबाट पार्टीका क्षेत्रीय कार्यवाहक सभापति एवं पूर्वसांसद चुमनारायण तबदार र नेता चेतराज रेग्मीलगायत घाइते भएका छन् । घाइते नेता–कार्यकर्ताहरूको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

आज उम्मेदवारी मनोनयनको कार्यसूची तय गरिएको थियो । तर, अधिवेशनको औपचारिक उद्घाटन हुनुअघि नै असन्तुष्ट समूहले मञ्च र हलमा तोडफोड सुरु गरेपछि स्थिति नियन्त्रणबाहिर पुगेको थियो । प्रत्यक्षदर्शीका अनुसार विवाद बढ्दै गएपछि नेताहरूबीच नै कुर्सी हानाहान र हातपात भएको थियो । वडा तहमा क्रियाशील सदस्यता वितरण तथा अनलाइन फाराम भर्ने क्रममा लामो समयदेखि देखिएको विवादका कारण यस क्षेत्रमा समयमै वडा अधिवेशनसमेत हुन सकेको थिएन । सोही असन्तुष्टि अधिवेशनस्थलमा झडप भएको हो ।

मोरङ क्षेत्र नम्बर ६ पार्टीका प्रभावशाली नेता डा। शेखर कोइरालाको गृहक्षेत्र हो । संस्थापन पक्षले डा. कोइरालानिकट कार्यकर्ताहरूले योजनाबद्ध रूपमा अधिवेशन बिथोल्न आक्रमण र तोडफोड गरेको आरोप लगाएको छ । यसअघि क्षेत्रीय सभापतिको जिम्मेवारीमा रहेका कोइरालापक्षीय नेता देवराज तामाङले असहयोग गरेको भन्दै नेतृत्वले पूर्वसांसद तबदारलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएर अधिवेशनको प्रक्रिया अघि बढाएको थियो ।

बुधबार अधिवेशनस्थलमा उपस्थित रहेका नेता तामाङले भने आफूनिकट कार्यकर्ताले तोडफोड गरेको भन्ने संस्थापनको दाबी आधारहीन रहेको बताए । “यहाँ लामो समयदेखि क्रियाशील सदस्यतामा धाँधली भएको भन्दै चर्को असन्तुष्टि थियो, त्यही विवादका कारण वडाका प्रतिनिधिहरू आक्रोशित भएका हुन्,” तामाङले भने, “हामीमाथि आक्रमणको आरोप लगाउनेहरूले त्यसलाई पुष्टि गर्नुपर्छ ।”

घटनापछि अधिवेशनस्थल तनावग्रस्त बनेको छ भने सुरक्षाकर्मी परिचालन गरिएको छ । विकसित परिस्थितिलाई साम्य पार्न र विवाद समाधान गरी अधिवेशन प्रक्रियालाई अघि बढाउन नेतृत्व तहमा छलफल भइरहेको कांग्रेस नेता रमेशजंग रायमाझीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर