animated ellipse animated ellipse

संविधान दिवसमा विराटनगरको एभरेष्ट स्कुलमा विज्ञान प्रदर्शनी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ आश्विन २०८१, बिहीबार १६:२७
1.93k
Shares
विराटनगर / आज असोज तीन अर्थात संविधान दिवस । देशभर संविधान दिवसमा विभिन्न कार्यक्रम गरि मनाइरहँदा विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले भने विद्यार्थीको विज्ञान प्रदर्शनी गराएर मनाएको छ ।

संविधान दिवस महत्वपूर्ण दिन भएकोले यस दिनमा विद्यार्थीहरूमा थप सृजनशील हुन अभिप्रेरित गर्न र राष्ट्रका लागि केहि गर्न उर्जा मिलोस् भन्ने उद्देश्यका साथ विज्ञान प्रदर्शनी गरिएको विद्यालयले जनाएको छ ।

शैक्षिक पाठ्यक्रममा सिकाइने हरेक विषयलाई प्रयोगात्मक विधिबाट अध्यापन गराउँदै आएको एभरेष्टले विभिन्न अन्वेषणका लागि कारखाना समेतको सहकार्यमा नियमित यस्ता प्रयोगात्मक कक्षा सञ्चालन गर्दै आएको छ । तिनै सिकेका आफ्ना अनुभवबाट तयार पारेका विभिन्न परियोजनाहरूलाई आ–आफ्ना अभिभावकहरुलाई विद्यार्थीहरुले प्रदर्शनी गरेका हुन् ।

विभिन्न १८ वटा कक्षामा राखिएका १०१ परियोजनाको अवलोकन गर्दै अभिभावकहरु खुशी देखिन्थे । कक्षा ६– ८ सम्मका विद्यार्थीले रोबोट बोट, हाइड्रोलिक जेसिबी, चुम्बकीय रेल, न्यूटनको चाल सम्बन्धि तेस्रो नियमको व्यवहारिक परिदृश्य, स्मार्ट सिटिका लागि आवश्यक पूर्वाधारहरु, सूर्य ग्रहण र चन्द्रग्रहण लाग्ने कारण, अणु बम, गुरुत्वाकर्षण लगायतका विषयमा तयार पारेका विभिन्न परियोजनाले अभिभावकलाई सन्तुष्ट बनाएको थियो ।

अवलोकन गरेर फर्कदै गरेका अभिभावक रमेश कार्कीले यस्तो प्रदर्शनीले अघि बढ्न प्रेरित गरेको भन्दै असाध्यै राम्रो भएको बताए। यस्तै अर्का अभिभावकले अहिले बालबालिका मोबाइल तथा ग्याजेटहरुमा झुम्मिरहेका बेला यस्ता कार्यक्रमले सृजनशील बन्न प्रेरित गर्ने बताउनुभयो । यस्तै अभिभावक चन्द्रकला थापाले प्रदर्शनी समग्रमा राम्रो लागेको र यस्ता कृयाकलापले सीप विकास हुने विश्वास ब्यक्त गरे।

विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले नेपालको संविधान दिवस हाम्रा लागि महत्वपूर्ण दिन भएको चर्चा गर्दै तर यस्ता दिनमा स–साना बालबालिकालाई र्‍यालीमा सहभागी गराउने भन्दा पनि रचनात्मक काममा लगाउने, संविधानको मर्म अनुसार मुलुकलाई समृद्धिको दिशामा कसरी अघि बढाउन सकिन्छ भन्ने विषयमा सिकाउनु लाभदायक हुने बताए।

उनले भने, हामीले नयाँ ढंगले संविधान दिवस मनाएका हौं । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा पुग्दा पनि पञ्चायती शैलीलाई आत्मसाथ गर्ने हैन, हरेक विद्यालयमा अब रचनात्मक ढंगले संविधान दिवस मनाउनुपर्छ । हरेकको मन मनमा संविधान दिवसको महत्वले छुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर