पूर्वाञ्चल खबर
विराटनगर /१ नम्बर प्रदेश सरकारले संविधान दिवसको दिन पारेर आगामि असोज ३ गते प्रदेशका विभिन्न महत्वपूर्ण स्थानमा ठूलो आकारको राष्ट्रिय झण्डा राख्ने भएको छ ।
प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
प्रदेशका विभिन्न महत्वपूर्ण स्थानहरु इलामको कन्याम, श्रीअन्तु, झापाको दमक, काँकडभिट्टा, केचना, सुनसरी इटहरी, कोशी ब्यारेज, धरान, विराटनगर एयरपोर्ट, विराटनगर रानी, सोलु लुक्ला, सगरमाथाको बेसक्याम्पलगायतका स्थानमा राष्ट्रिय झण्डालाई ठूलो आकारको स्थायी रुपमा राख्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए ।
यस्तै बैठकले स्पेनको राजधानी मेड्रिटमा आगामी सेप्टेम्बर २७ बाट सुरु हुने एक्स्पोटुरलमा मुख्यमन्त्रीको नेतृत्वमा ६ सदस्यीय टोली भ्रमणमा जान स्वीकृति प्रदान गरेको कार्कीले जानकारी दिए । बैठकले सुनसरीको इटहरीको चोकबाट पूर्व पश्चिम राजमार्गमा दुईवटा आकाशे पुल निर्माणका लागि भौतिक पूर्वाधार मन्त्रालयको प्रस्तावलाई स्वीकृति प्रदान गरेको छ ।
बैठकले प्रदेशसभा सचिवालय, र प्रदेश लेखा नियन्त्रण कार्यालयका कर्मचारीलाई खाना, खाजा तथा प्रोत्साहन सुविधा दिने निर्णय पनि गरेको छ । यस्तै उद्योग, वन तथा पर्यटन मन्त्रालयको बजार अनुगमनसम्बन्धी नियमावली २०७६ र प्रदेश नीजि तथा साझेदारी फम दर्ता नविकरण सम्बन्धी विधेयकको अवधारणा तयार पार्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । बैठकले धनकुटामा आदिवासी जनजाति संग्रहालय स्थापना गर्न आर्थिक सहयोग गर्ने सामाजिक विकास मन्त्रालयको प्रस्ताव र जनतासँग मुख्यमन्त्री कार्यक्रम संचालन कार्यविधि २०७६ पारित गरेको छ ।