पूर्वाञ्चल खबर
विराटनगर / विराटनगर–३ निवासी १०१ वर्षिय नारायणप्रसाद रेग्मीलाई विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले १२ हजार प्रदान गरी पोषण भत्ताको अभियानको आजदेखि शुरु गरेका छन् ।

जेष्ठ नागरिक रेग्मीको घरमा गई महानगर प्रमुख पराजुली र वडाअध्यक्ष विनोद वस्नेतले साmे रकम हस्तान्तरण गरेका हुन् । सो अवसरमा रेग्मीको स्वास्थ्य जाँच समेत गरिएको थियो ।
यसैगरी प्रमुख पराजुली र अध्यक्ष वस्नेतले वडा ३ निवासी ९३ बर्षिया कृष्णकुमारी न्यौपानेलाई पनि घरमा गई १२ हजार भत्ता हस्तान्तरण गरे । विराटनगर महानगरपालिकाले ८४ वर्ष उमेर नाघेका जेष्ठ नागरिकहरुलाई पोषण भत्ता वापत मासिक १ हजार प्रदान गर्ने निर्णय अनुसार एकमुष्ठ १२ हजार हस्तान्तरण गरेको छ ।
८४ वर्ष उमेर नाघेका जेष्ठ नागरिक हिन्दु धर्म अनुसार देवतुल्य हुनु हुनाले उहाँहरुको दर्शन र आर्शिवाद लिन घरदैलोमा पोषण भत्ता उपलव्ध गराउने अभियान शुरु गरेको महानगर प्रमुख पराजुलीले वताए ।
महानगरपालिकाले चाँडै नै निःशुल्क आँखा शिविर सञ्चालन गरी ८४ वर्ष उमेरका जेष्ठ नागरिकको निशुल्क चश्माको व्यवस्था गर्नुका साथै एक चिकित्सकलाई घरदैलोमा स्वास्थ्य जाँचको व्यवस्था गरिने उनले जानकारी दिए ।
महानगर प्रमुख पराजुलीले जेष्ठ नागरिकहरुलाई लठी र टर्च लाईटको समेत महानगरपालिकाले वितरण गरिने वताए । विराटनगर महानगरपालिकाभित्र ८४ वर्ष उमेर नाघेका १ हजार २ सय ४६ जेष्ठ नागरिकहरुको वसोवास रहेको छ ।
महानगर प्रमुख पराजुलीले आजै विराटनगर–३ स्थित आदर्श उपभोक्ता मञ्चको भवनमा तीन जना ८४ वर्ष उमेर नाघेका जेष्ठ नागरिकहरुलाई पोषण भत्ता वितरण गरे ।