पूर्वाञ्चल खबर
विराटनगर / नेपाली कांग्रेस मोरङले बाढीबाट प्रभावित मोरङका पीडितलाई राहत तथा उद्धारमा सहयोग गर्ने भएको छ ।
पार्टीको आज विराटनगरमा बसेको कार्यसमिति बैठकले बाढीबाट प्रभावितको राहतका लागि जिल्ला सचिव नागेश कोइरालाको संयोजकत्वमा राहत तथा उद्धार समिति गठन गरेको छ । सात सदस्यीय समितिमा राजु मास्के, सीता कार्की, सञ्जय मण्डल, राजेश गुप्ता, कमला कँडेल र मित्रसेन योञ्जन सदस्य छन् ।
समितिले बाढी पीडित तथा प्रभावितबारे अध्ययन गर्ने बताइएको छ । अध्ययनपछि के कस्तो राहत वा सहयोग गर्ने भन्ने तय हुने पार्टीका सचिव मोदराज घिमिरेले जानकारी दिएका छन् । भने,‘‘समितिले सबै अध्ययन गरेपछि आवश्यकताअनुसार राहत दिने कार्य हुनेछ ।’’
कांग्रेसले लोकसेवा आयोगले समावेशिताको आवश्यकतालाई कटौती गरेको भत्र्सना गरेको छ । संविधानले नै गरेको व्यवस्था कटौती हुनु अनुचित भएकोले यसबारे पार्टी केन्द्रसंग लविङ गरी दबाब सिर्जना गर्ने भएको छ । मोरङमा सोमबार वीपी स्मृति विदश भव्यतासाथ मनाउन पार्टी जिल्ला कार्यालय, कर्सिया चौकमा वीपी शालिकमा माल्यापर्ण र सुनवर्षीमा वीपी सेवा केन्द्रमा विचार गोष्ठी आयोजना गर्ने निर्णय गरेको पार्टी सचिव मोदराज घिमिरेले जानकारी दिएका छन् ।
सचिव घिमिरेले भने,‘‘आउँदो भदौ महिनामा निर्वाचित जनप्रतिनिधिसंग छलफल गर्नेसमेत तयारी गरिएको छ ।’’ प्रदेश तथा संघीय सांसद विकास क्षेत्र कार्यक्रम तथा सांसद विकास कोषअन्तर्गतका विकास कार्यक्रम छनोटदेखि सम्पन्न हुन्जेलसम्म स्थानीय तहको सहभागिता हुनुपर्ने भएपनि कांग्रेसले जितेका तहमा सत्तासीन दलका सांसदले आफूखुसी गर्ने गरेको विषयमा पनि ध्यानाकर्षण गरिएको सचिव घिमिरेले बताएका छन् ।