पूर्वाञ्चल खबर
विराटनगर / विराटनगरका उद्योगी व्यवसायीले ढुवानीमा मूल्य अभिबृद्धि कर (भ्याट) र भेहिकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस) कार्यान्वयनकालागि निजी क्षेत्रलाई कम्तीमा ६ महिनाको समय दिनुपर्ने आग्रह गरेका छन् ।
मोरङ व्यापार संघ र उद्योग संगठन मोरङको संयुक्त आयोजनामा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणासँग विहिबार विराटनगरमा भएको छलफलमा विराटनगरमा सबै व्यवसायी सूचना प्रविधिमा दक्ष नभएको र साधनस्रोतले युक्त नभएको हुँदा तयारीकालागि व्यवसायीले कम्तीमा ६ महिनाको समय मागेका हुन् ।
ढुवानीमा भ्याट र भीसीटीएसमा जान ६ महिनाको समय माग गरेको हो । भेलाको निष्कर्ष प्रस्तुत गर्दै व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले सरकारबाट ल्याइएका प्रावधानहरू आवश्यकता हेरी लागु गराउन समय दिनु पर्ने र चरणबद्ध रुपमा ल्याइनु पर्ने बताए ।
अध्यक्ष मुन्दडाले सूचनाप्राविधिको कठिनाइले उद्योगी–व्यवसायीलाई मर्का पार्न नहुने, पान नम्बरको अनिवार्यतालाई लचिलो बनाउनु पर्ने, मु.अ.कर फिर्तामा कुनै जटिलता ल्याउनु नहुने, बैंक र वीमाकम्पनीहरूको सिन्डिकेट अन्त्य गरिनु पर्ने र उच्चस्तरीय कार्यदल समितिले बुझाएको प्रतिवेदनका मागहरू अविलम्ब पुरा गरिनु पर्ने आग्रह गरे ।
उनले भेलाका निष्कर्ष कार्यान्वयनकालागि सरकारसमक्ष पहल गर्ने, ज्ञापन पत्र बुझाउने र आवश्यक परे आन्दोलनमा समेत उत्रने चेतावनी दिए ।
उद्योगी–व्यवसायीलाई मर्का पार्ने गरी पान नम्बरको अनिवार्यताको व्यवस्थामा सरकार लचिलो हुनुपर्ने र मूल्य अभिवृद्धि कर फिर्तामा जटिलता आउन नहुनेतर्फ ध्यानाकर्षण गराइएको छ । व्यवसायीले अध्यक्ष राणा समक्ष ज्ञापनपत्रसमेत हस्तान्तरण गरेका थिए । उनीहरूले उद्योग, प्रतिष्ठानमा उत्पादन कार्यमा प्रयोग भएको डिजल (इन्धन) मा तिरेको मूल्य अभिवृद्धि कर फिर्ता हुने व्यवस्था हटाइएकोमा यथावत राख्न पर्ने, बैंकको ब्याज तथा विमा कम्पनीबाट भएको अघोषित सिन्डिकेट अन्त्य गर्नुपर्ने ढुवानी सेवामा लगाइएको मूल्य अभिवृद्धि कर नीति तत्काल कार्यान्वयन गर्न नहुने लगायतका माग अगाडि सारेका छन ्।
भेलाले १ हजार भन्दा बढीको भुक्तानी गर्दा प्यान आवश्यक हुनुपर्ने र कामदारलाई बैङ्किङ प्रणालीबाट मात्र भुक्तानी गर्नुपर्ने नियम तत्कालकालागि अव्यावहारिक र अवैज्ञानिक भएको ठहर गरेको छ ।
भेलामा नेउवामहासंघका उपाध्यक्षकिशोर प्रधान, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, व्यापार संघका पूर्व अध्यक्ष सुरेशकुमार शर्मा, उद्योग संगठनका पूर्व अध्यक्ष सुशील धनावत, चाटर्ड एकाउन्टेन्ट अश्विनी बंशल, उद्योगी व्यवसायीहरू आशुतोष यादव, अनिल पोखरेल, देवकीनन्दन अग्रवाल, तेजराज कोइराला, विवेक अग्रवाल, समी अग्रवाल, वसन्त राठी, विनोद सोनी, मोहित अग्रवाल, हरिचरण शर्मा, ऋषभ दाहाललगायतले आ–आफ्नो विचार राखेका थिए।