पूर्वाञ्चल खबर
विराटनगर /हालै विराटनगर महानगरपालीकाले पत्रकारलाई दिएको पुरस्कारको बिषयमा विवाद उत्पन्न भएपछि नेपाल पत्रकार महासंघ मोरङले पत्रकारिता पुरस्कार लिने /दिने सम्बन्धमा निर्देशिका जारी गरेको छ ।
आज नेपाल पत्रकार महासंघ मोरङ जिल्ला कार्य समितिको बसेको बैठकले पत्रकारिता पुरस्कार लिने÷दिने सम्बन्धमा निर्देशिका जारी गरेको हो ।
नेपाल पत्रकार महासंघ मोरङको अगुवाइमा असार १८ गते बसेको महासंघका पूर्व अध्यक्ष, पदाधिकारीहरू, सल्लाहकारहरू, प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल, मधेशी पत्रकार समाज, स्वतन्त्र पत्रकार संघ, संघीय प्रेस फोरमका मोरङ जिल्लाका अध्यक्षहरू, केन्द्रीय सदस्यहरू र उपलब्ध पदाधिकारीसहित बसेको सर्वपक्षीय बैठकबाट पारित भएको नेपाल पत्रकार महासंघ मोरङको पत्रकारिता पुरस्कार लिने/दिने सम्बन्धमा बनेको निर्देशिका–२०७६ लाई अनुमोदन गरेको हो ।
निर्देशिकाले मोरङ जिल्लाका पत्रकार महासंघका सवै साधारण सदस्यहरूलाई पुरस्कार लिने र दिने सम्बन्ध मापण्ड पूरा गरेका सम्मान, अभिनन्दन, प्रोत्साहन र प्रशंसा मात्रै ग्रहण गर्न निर्देशन दिएको छ । साथै उक्त मापदण्ड पूरा गरेर मात्रै सम्मान, अभिनन्दन, प्रोत्साहन र प्रशंसा प्रदान गर्न सरोकारवाला सरकारी तथा गैरसरकारी संघसंस्थाहरूलाई अनुरोध समेत गरेको छ ।
पत्रकार महासंघ वा पत्रकारसम्बद्ध संस्थाहरूको निर्णायक भूमिका नरहेको पुरस्कार नदिन÷नलिन हामी सम्बद्ध सबै सरोकारवाला पक्षलाई आह्वान गर्दछौं । दर्ता, अक्षयकोष, विधान र कार्यविधि नभएको पुरस्कार नलिने घोषणा गर्दछौं । आफूले निरन्तर समाचार लेखिरहने निकाय वा व्यक्तिबाट पुरस्कार लिनुपरे यस्तो पुरस्कारमा पत्रकार महासंघ वा पत्रकारसम्बद्ध संस्थाहरूको निर्णायक भूमिका हुनु पर्नेछ ।
पुरस्कार भन्नाले सम्मान, अभिनन्दन, प्रोत्साहन र प्रशंसासमेतलाई जनाएको छ । त्यस्तै महासंघको बैठकले सामाजिक सञ्जालमा पत्रकार महासंघका पदाधिकारी, सदस्य तथा साधारण सदस्यले पत्रकार र पत्रकारिताको सम्बन्धमा नकारात्मक टीका–टिप्पणी नलेख्ने र अभिव्यक्ति नगर्न सबै सदस्यहरूलाई पत्रकार महासंघ अपिल गरेको छ ।
महासंघको उक्त अपिललाई अस्वीकार गरेको खण्डमा त्यस्तो सदस्यहरूलाई विभिन्न संघ–संगठनहरूको अध्यक्षहरूसँगको परामर्शमा महासंघ मोरङ शाखाले कारबाहीको सिफारिस गर्ने महासंघ मोरङद्धारा जारी बिज्ञप्तीमा भनिएको छ ।