पूर्वाञ्चल खबर
प्रत्येक उडानअघि विमानको अवस्था जाँच गरी उडानयोग्य भए वा नभएको सुनिश्चित गर्नुपर्ने भए पनि विराटनगरबाट उड्ने विमानमा यस्तो जाँच नियमित र व्यवस्थित रूपमा हुने गरेको देखिँदैन । विराटनगर विमानस्थलमा बुद्ध, श्री र यति एयरलाइन्सका विमान नियमित रूपमा दर्जनौ पटक आउने जाने गरेको छ । कतिपय अवस्थामा एउटै विमानले पुरै देशको विभिन्न ठाउँको चक्कर लगाउने गरेको छ । दिनैभर उडीरहने विमानको परीक्षण हुनै पर्ने हो । तर विमान अवतरणपछि अर्को उडानका लागि तयार पार्दा दक्ष प्राविधिकबाट विस्तृत जाँच गर्ने अभ्यास निकै कम देखिनुले यात्रुको सुरक्षामाथि जोखिम बढाएको छ । सामान्य रूपमा पाइलटले विमानको चक्का, पखेटालगायत बाहिरी भाग हेरेर उडान भर्दा सुरक्षित यात्राको धज्जी उडेको छ ।
भख्खरै उडान अघिको नियमित जाँचलाई अटेर गरिँदा डोल्पाको जुफाल विमानस्थलमा सीता एयरको जहाजको पछाडिको एउटा चक्का छुट्टिएको थियो । धन्न विमानको गति निकै कम भएकाले ठूलो दुर्घटना टरेको थियो । उडान अघि सर्तक भइ चेकजाँच गरिएको भए चक्काको कमि कमजोरी थाह लाग्ने थियो र छुट्टिने थिएन ।
हवाई यात्रा संवेदनशील र उच्च सुरक्षासँग जोडिएको क्षेत्र हो । विमानमा देखिन सक्ने सानो प्राविधिक समस्या पनि गम्भीर दुर्घटनाको कारण बन्न सक्छ । त्यसैले उडानअघि विमानको बाहिरी अवस्था, इन्जिन, चक्का, फ्लाप, लिकेज, नट, बोल्टलगायत महत्वपूर्ण पक्षको जाँच आवश्यक हुन्छ जुन पाइलटभन्दा बढी विमान इन्जिनियर वा प्राविधिकले मात्रै गर्न सक्छन् ।
विराटनगर नागरिक उड्डयन कार्यालयका प्रमुख सुभाष झाले भने प्रत्येक उडानअघि विमानको इन्जिनियर वा प्राविधिकबाट विस्तृत प्राविधिक परीक्षण आवश्यक नहुने बताएका छन् । उनका अनुसार विमान अवतरणपछि पाइलटले ‘गो एराउन्ड’ अर्थात विमानको वरीपरी घुमेर अवस्था यकिन गरेर उडान भर्ने गर्छन् । इन्जिनियर वा प्राविधिकले तालिका अनुसार हप्ता वा महिनामा विमानको काठमाडौमा नै चेकजाँच गर्ने गरेको बताए । प्रमुख झाले भने,‘ प्रत्येक उडान अघि इन्जिनियर वा प्राविधिकबाट प्राविधिक जाँचको जरूरी छैन ।’
यद्यपि, यात्रुको सुरक्षासँग जोडिएको विषयमा नियमित प्राविधिक जाँचको व्यवस्था कति प्रभावकारी छ भन्ने प्रश्न उठेको छ । विमानमा लिकेज, फ्लापमा समस्या, चक्का वा अन्य भागमा खराबी भए त्यसको समयमै पहिचान हुन नसके उडानका क्रममा जोखिम निम्तिन सक्छ । यस्तै विराटनगरमा अवतरण हुने केहि विमानलाई दुई पाइलटको सट्टा एउटै पाइलटबाट उडान संचालन हुने गरेको समेत देखिने गरेको छ । साधारणतया ः आन्तरिक उडानका लागि योग्य विमानमा २ जना पाइलटको व्यवस्था हुन्छ । यस्तो अभ्यासले यात्रुको सुरक्षामाथि थप प्रश्न उठाएको छ ।
हवाई उडानमा हुने सानो लापरवाहीले ठूलो क्षति निम्त्याउन सक्छ । त्यसैले नियम र सुरक्षाका मापदण्डलाई कागजमा मात्र सीमित नराखी विराटनगर विमानस्थलबाट हुने प्रत्येक उडानमा आवश्यक प्राविधिक परीक्षण र सुरक्षा मापदण्डको कडाइका साथ पालना गरिनुपर्ने देखिन्छ ।
२०७९ माघ १ गतेदेखि लागु हुने गरी नेपाल सरकारले हवाई दुर्घटना हुन नदिन आन्तरिक उडानतर्फका सबै वायुसेवा कम्पनीलाई उडानअघि अनिवार्य प्राविधिक परीक्षण गर्न निर्देशन दिएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले विमान परीक्षण गरे र नगरेको अनुगमन गर्न नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको तत्कालिन उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिएका थिए । तर प्रमुख झाले विमान कम्पनीलाई विमानस्थलमा विमान जाँच्ने इन्जिनियर वा प्राविधिकको नियुक्ती गर भनेर निर्देशन दिन नसक्नु आफैमा रहस्यको विषय बनेको छ । विराटनगरमा कुनैपनि विमान कम्पनीले उडान अघि विमान जाँचका लागि इन्जिनियर वा प्राविधिक नियुक्त नगरेको हुँदा पाइलटको खुशीमा विमानलाई आकाशमा उडाइने गरिएको छ । विराटनगरको उड्डयन कार्यालयले समेत न आफैले प्राविधिकको नियुक्त गर्न सकेको छ न त विमान कम्पनीलाई भन्न नै आँट देखाएको छ ।
,