पूर्वाञ्चल खबर
विराटनगर /इङ्ल्याण्ड तथा वेल्समा आजदेखि शुरु भएको १२ औं विश्वकप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा आयोजक इङ्ल्याण्ड विजयी भएको छ ।
आज भएको विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा दक्षिण अफ्रिका इंग्ल्यान्डसँग १ सय ४ रनको फराकिलो रन अन्तरले पराजित भएको छ ।
लण्डनमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको आयोजका इङ्ल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाई ३ सय ११ रनको योगफल तयार पारेको थियो । इङ्ल्याण्डका बेन स्टोक्सले ८९ रनको योगदान दिए । उनले ७० बलमा ९ चौका प्रहार गरेका थिए । त्यस्तै कप्तान इयान मोर्गनले ५७ रन जोड्दा ज्यासन रोय ५४ रन तथा जोय रुटले ५१ रन बनाए । दक्षिण अफ्रिकाका इमरान ताहिर र लुन्गी नगिडीले समान २–२ विकेट लिए ।
३ सय १२ रनको चुनौती पछ्रयाएको दक्षिण अफ्रिकाले ३९ दशमलव ५ बलमा सवै विकेट गुमाई २ सय ७ रन मात्र जोड्न सक्यो । दक्षिण अफ्रिकाकालागि क्युन्टक डिककले ६८ रन बनाउँदा भेन डर डुसेनले ५० रन बनाएका थिए । इङ्ल्याण्डका जेफर आचरले ३ विकेट तथा लियम प्लंकेट र वेन स्टोक्सले २–२ विकेट लिए । खेलको म्यान अफ द म्याच इङ्ल्याण्डका वेन स्टोक्स घोषित भए ।
सन् १९९२ देखि विश्वकपमा भाग लिएको दक्षिण अफ्रिका अहिलेसम्म सेमिफाइनलबाट माथि जान सकेको छैन। दोस्रो विश्वकपमा एकपटक मात्रै फाइनलमा पुगेको इङ्ल्याण्ड भने वेष्टइण्डिजसँग पराजित भएपछि उपविजेतामै सीमित भएको छ।