AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

चुनाव लक्षित विराटनगर एमालेको वनभोजः तिक्तता मेटेर एक हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ माघ २०८२, शनिबार २०:१०
639
Shares

विराटनगर /नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ ।

आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।

हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका थिए र यस वर्षपनि केहि वडा स्तरीय वनभोज कार्यक्रम भएपनि विराटनगरमा महानगर कमिटीले भने पहिलोपटक वनभोज कार्यक्रम राखेको हो ।

वनभोज कार्यक्रमको औपचारीक कार्यक्रमलाई सम्वोधन गर्दै महानगरका अध्यक्ष बलराम गिरी (नविन)ले भने ‘ यो कार्यक्रम भनेको नेकपा एमालेका सबै नेता कार्यकर्ताको आन्तरीक प्रतिष्पर्धाको तिक्तता यहि सिंघिया खोलामा बगाउन हो । हिजो आन्तरिक प्रतिष्पर्धामा कुनै कित्तामा लागेपनि अब नेकपा एमालेलाई जिताउने प्रण गर्न हो ।’ गिरीले यसरी सम्बोधन गर्दै गर्दा उपस्थित हजारौं एमाले नेता कार्यकर्ताले तालिले समर्थन गरे ।

वनभोज कार्यक्रमको संक्षिप्त औपचारीक कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका केन्द्रीय सदस्य जीवन घिमिरेले नेकपा एमालेमाथि चौतर्र्फी आक्रमण भइरहेको उल्लेख गर्दै त्यसको कारण भने एमालेको संविधानको रक्षा गर्नुपर्ने अडान, लोकतन्त्रको रक्षा र सम्मृद्ध नेपाल सुखी नेपालीको नारा सार्थ नहोस भन्ने नै रहेको बताए । एमाले हुँदासम्म अरुको केहि नचल्ने देखिएपछि देशी विदेशी तत्वहरु एमालेका विरुद्ध एकजुट भएर लागेको बताए । घिमिरेले यति हुँदा पनि एमालेको योगदान र नेपाली जनताको लागि निर्वाह गरेको भूमिका प्रति जनता सचेत छन् भन्ने बुझेर अहिले सामाजिक सञ्जालबाट अनेकन भ्रम छर्ने काम भइरहेको बताए । उनले फागुन २१ मा निर्वाचन हुने आशंका अझै रहेको भन्दै भइहाले नेकपा पहिलो शक्ति बन्ने विश्वास ब्यक्त गर्दै सामाजिक सञ्जालका भ्रमबाट जोगिन सबैसँग आग्रह समेत गरे । नयाँ भनिएका दलहरुके हालत १५ दिनभित्रै देखिएको तर्क गर्दै उहाँले लोकतन्त्र र जनताको पक्षमा लामो समय लडेको एमालेको भूमिका जनताले बिर्सन नसक्ने बताए ।

एमालेका केन्द्रीय सदस्य तथा विराटनगर महानगरका इन्चार्ज पर्शुराम बस्नेतले अब एमालेमा कुनै मतभेद नरहेको बताउँदै आगामी निर्वाचनमा एक ढिक्का भएर अघि बढ्नुपर्ने बताए । उनले एमाले एक ढिक्का भएर अघि बढ्दा जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा विजय हासिल हुने बताए ।

वनभोजमा उपस्थित एमाले मोरङका सह सचिव सन्तोष वान्तवाले यो वनभोज मात्र नभएर एमालेको परिवार भावनात्मक रुपमा एक बनाउने वातावरण भएको बताए । उनले भने,‘ एमालेको एकता कस्तो छ भन्ने यसले पुष्टि गरेको छ ।’ २ हजार भन्दा बढी नेता कार्यकर्ता उपस्थित भएको वनभोजमा एमालेको ११ औं महाधिवेशनमा जिल्लाबाट निर्वाचित केन्द्रीय सदस्यहरुको सम्मान समेत गरिएको थियो ।

यस्तै विभिन्न खेलकुदका कार्यक्रमका साथै नाचगान समेत गरिएको एमाले विराटनगर महानगर कमिटीका सचिव विज्ञान शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर