AArya
RUMPUM
animated ellipse animated ellipse

कोशी प्रदेशमा बाढीपहिरोपीडित सबैको घर कोशी प्रदेश सरकारले पुनर्निर्माण गर्ने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ आश्विन २०८२, बुधबार १६:३९
54
Shares
विराटनगर/ केही दिनअघि गएको बाढी पहिरोले भत्किएका र बगाएका सबै घर कोशी प्रदेश सरकारले पुनर्निर्माण गरिदिने भएको छ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज बसेको प्रदेश विपद व्यवस्थापन परिषद्को बैठकले सबै घर बनाइदिने निर्णय गरेको हो।

विपतमा सबैभन्दा बढी क्षति भएको इलाम, झापा र मोरङका घरहरू तत्कालै बनाउन सुरु गर्ने कोशी प्रदेश सरकारले जानकारी दिएको छ। घरहरूको सम्पूर्ण विवरण संकलन पनि गर्दै जाने र निर्माण कार्य पनि अगाडि बढाउँदै जाने आजको परिषद बैठकले निर्णय गरेको छ। त्यस्तै आजको परिषद् बैठकले इलाम जिल्लाका सातवटा पालिकालाई संकटग्रस्त घोषणा गर्नको लागि संघीय सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ।

प्रदेश सरकारले राहत र पुनर्स्थापनाका लागि इलाम जिल्लामा समन्वय गर्न आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना, भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राई र आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीलाई जिम्मा दिएको छ। सो टोलीले सम्पूर्ण क्षेत्रको स्थलगत निरीक्षण गर्दै पुनर्निर्माणलाई फिल्डमै खटेर तीव्रता दिने छ। त्यस्तै सुनसरी जिल्लाको हकमा वन पर्यटन तथा वातावरण मन्त्री सदानन्द मण्डल र आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले समन्वय गरी काम गर्ने प्रदेश सरकारले जनाएको छ।

झापा जिल्लाका लागि खानेपानी , सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीलाई आवश्यक पुनर्निर्माण र सबै खालको समन्वय गर्ने जिम्मेवारी तोकिएको छ। आजको परिषद् बैठकले चालु बजेटका खर्च र योजनाहरु हेरेर कटौती गरी पुनर्निर्माणमा खर्च गर्नका लागि कोशी प्रदेश सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ।

भौतिक पूर्वाधार मन्त्रालयले तत्कालै सबै खालका बाटोहरू खुलाउनका लागि आफ्ना सबै संयन्त्र परिचालन गर्नका लागि पनि आजको बैठकले निर्देशन गरेको छ।कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पुनर्निर्माण र राहतमा कुनै कसर नराखी काम अगाडि बढाउनका लागि बैठक निर्देशन दिए। विपतमा सम्पूर्ण नागरिक, उद्योगी व्यवसायी, अधिकारकर्मी, राजनीतिक पार्टी, बैंक तथा वित्तीय संस्था र कर्मचारीहरूलाई सहयोग गर्नका लागि आह्वान गर्ने समेत निर्णय गरेको आन्तरिक मामला तथा कानुन मन्त्रालयका विपद महाशाखा प्रमुख कमल थापाले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर