RUMPUM
animated ellipse animated ellipse

मेची नेत्रालय मेचीनगर गोल्डकपको उपाधि पुलिसको पोल्टामा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ बैशाख २०७६, शनिबार १९:४२
3
Shares

काँकडभिट्टा / विभागिय टोली नेपाल पुलिस क्लबले काँकडभिट्टामा सम्पन्न मेची नेत्रालय मेचीनगर गोल्डकपको उपाधि हात पारेको छ । पुलिसले आज भएको फाइनल खेलमा अर्को विभागिय टोली साविक विजेता त्रिभुवन आर्मी क्लबलाई सडनडेथमा पराजित गर्दै उपाधि कब्जा गरेको हो ।

उपाधिसँगै पुलिसले १० लाख १ हजार रुपैयाका साथै ट्रफि मेडल र प्रमाणपत्र पायो उपविजेता आर्मीले ५ लाख १ हजारमा चित्त बुझायो । पुलीसले भर्खरै सम्पन्न आठौ राष्ट्रिय खेलकुदको फाइनलमा आर्मीसँग पराजित भएको बदलासमेत यहाँ आएर लियो । गत बर्ष भएको तेस्रो सिजनको मेचीनगर गोल्डकपमा पनि आर्मीले पुलिसलाई सेमिफाइनलमा पाखा लगाएको थियो । उपाधि रक्षासँगै पुलिसले आर्मीसँग बिगतमा भोगेको हारको बदला लिएको छ ।

निर्धारित ९० मिनेटभर दुबै टीमबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा दुबै टीमबाट ३–३ को बराबरी खेलेपछी खेलको निर्णय सडनडेथबाट गरिएको थियो । सडन डेथमा त्रिभुवन आर्मी क्लबका विकास तामाङको प्रहार आकाशिएको थियो भने पुलिसका मानबादुर परियारको प्रहार पोष्टमा लागेर फर्किएको थियो । पोष्टमा लागेर फर्किएको बलले गोलरक्षक कुथुको शरिरमा ठोक्किएपछि पोष्टको दिशा लिएको थियो ।

परियारको निर्णायक गोलको मद्दतले पुलिसले उपाधि हात पारेको हो । टाइब्रेकरमा पुलिसका सुमन लामा, कप्तान भरत शाह, रेजिन सुब्बाले गोल गरेका थिए भने अजित भण्डारी र आशिष गुरुङको प्रहार आर्मीका गोलरक्षक कुथले फर्काएका थिए । आर्मीका नवयुग श्रेष्ठको प्रहार आकाशिएको थियो भने जर्ज प्रिन्स कार्कीको प्रहार पुलिसका गोलरक्षक रोशन खड्काले रोकेका थिए । आर्मीका दीपकुमार लामा, टेकबहादुर बुढाथोकी र सन्तोष तामाङको प्रहारले जाली चुमेको थियो । खेलको म्यान अफ द फाइनल पुलिसका गोलरक्षक खड्का घोषित हुँदै नगद ११ हजार रुपैंयाँ पुरस्कार पाए ।

राइजिङ प्लेयर काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरका एञ्जल गुरुङ, उत्कृष्ठ गोलरक्षक नेपाल पुलिस क्लबका गोलरक्षक शत्रुघन चौधरी, बेष्ट डिफेन्स पुलिसका आषिश गुरुङ, बेष्ट मिडफिल्डर आर्मीका सेसेहाङ आङदेम्बे, बेष्ट स्ट्राइकर आर्मीका नवयुग श्रेष्ठ, बेष्ट प्रशिक्षक अनन्तराज थापा घोषित भए । उनीहरुले जनही २१ हजार रुपैयाँ पुरस्कार पाए । बेष्ट प्लेयर अफ द टुर्नामेन्ट पुलिसका रवि पासवान घोषित हुँदै १ लाख १ हजार रुपैंया पुरस्कार पाए ।

बैशाख १२ गतेदेखि शुरु भएको प्रतियोगितामा आयोजक सहित पुलिस, आर्मी, संकटा, च्यासल, सुनसरी ११, माइभ्याली क्लब इलाम, पारो एफसी भुटान, क्यामरुनको दाउफिन्स एफसी र रुस्लान थ्री स्टार क्लबले प्रतिष्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर