पूर्वाञ्चल खबर
काठमाण्डौं / एपिएफका दिपेश धामी १५ औं कृष्णमोहन स्मृती राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगितामा विजय यात्रा जारी राख्दै सहभागी तीनै विधाको अन्तिम चारमा पुग्न सफल भएका छन् ।
दिपेशले पुरुष एकल, युगल र मिश्रीत युगलमा सेमिफाईनलको यात्रा तय गरेका हुन् । पुरुष एकलमा एपिएफका गौतम सिंह कठायतलाई २१–१४, २१–८ ले पराजित गरेका धामीले पुरुष युगलमा बिजित थापा मगरसंग मिलेर एपिएफकै बिशाल प्रधान र विमल श्रेष्ठको जोडीलाई २१–१३, २१–१९ ले पाखा लगाए । यस्तै मिश्रीत युगल तर्फ पनि पुजा श्रेष्ठसंग मिलेर धामीले जेष्ट ब्याडमिन्टन एकेडेमीका अखिल श्रेष्ठ र डिना पुनलाई २१–१७, २१–७ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेका हुन् ।
यस्तै अन्तिम चारमा प्रवेश गर्ने पुरुष एकल तर्फका अन्य खेलाडीहरुमा सेनाका प्रफुल महर्जन, सिल्क ग्रुपका प्रिन्स दाहाल र पुलिसका जीवन आचार्य रहेका छन् । प्रफुलले एपिएफका सुदिप सेढाईलाई २१–१८, २१–११ले, प्रिन्सले एपिएफका सुनिल जोशीलाई २१–१५, २१–१९ ले तथा जीवनले एपिएफका साजन कृष्ण ताम्राकारलाई २१–१८, २१–१७ ले पराजित गरे ।
पुरुष युगल तर्फ पुलिसका दीपक बोहरा र जीवन आचार्यको जोडीले एपिएफका सुमन लिम्बु र जोसेफ अधिकारीको जोडीलाई २१–१२, २१– ९ ले पाखा लगाउँदै सेमिफाईनलमा प्रवेश गरे । यस्तै एपिएफका सुदीप सेढाई र साजन कृष्ण ताम्राकारको जोडीले एपिएफकै सुनिल जोशी र गौतम सिंह कठायतको जोडीलाई २१– १८, २१–१८ ले पराजित गर्दै फाईनल प्रवेशका लागि सेनाका प्रफुल महर्जन र सुरोज महर्जनको जोडी संग प्रतिस्पर्धा गर्ने छन् । महर्जन जोडीले सिल्क ग्रुपका प्रिन्स दाहाल र एपिएफका निर बिक्रम देवकोटाको जोडीलाई २१–१५, २१–१६ ले पराजित गरे ।
मिश्रीत युगल तर्फ एपिएफका गौतम कठायत र सुनैना मुखिया, सेनाका सुरोज महर्जन र अमिता गिरी तथा एपिएफका बिजित थापा मगर र शोभा गौचनको जोडी पनि सेमिफााईनलमा स्थान बनाउन सफल भए । कठायत र मुखियाको जोडीले सेनाका रुकेश महर्जन र रञ्जना भट्टको जोडीबाट वाक ओभर प्राप्त गरे । यस्तै सुरोज र अमिता गिरीको जोडीले एपिएफका निर बिक्रम देवकोटा र भोजुरकी सिता राईको जोडीमाथि २१–१९, २१–१३ को जित निकाले । बिजित र शोभाको जोडीले सेनाका प्रफुल महर्जन र अनु माया राईको जोडीलाई २१–१९, २१–१८ ले हराउँदै सेमिफाइनलमा स्थान बनाए ।
हलचोकस्थित एपिएफको कभर्डहलमा भएको प्रतियोगिताको महिला एकल तर्फ सेनाका खेलाडीहरुले बर्चस्व कायम गरे । सेनाका अमिता गिरी, रशिला महर्जन र अनुमाया राईले अन्तिम ४ मा स्थान पक्का गरे । गिरीले मोरङ्गकी सिमा राजबंशीलाई २१–१५, २१–१९ ले पराजित गर्दै सेमिफाईलनमा एपिएफकी जेशिका गुरुङ्गसंगको प्रतिस्पर्धा पक्का गरिन् । जेशिकाले एफिएफकी शोभा गौचनलाई २१–८, २१–१४ ले पराजित गरिन् । यस्तै रशिलाले सेनाकी रञ्जना भट्टलाई २१–११, २१–१५ ले तथा अनुले एपिएफकी सुनैना मुखियामाथि २१–११, १४ –२१, २१–१८ को कठिन जित निकालिन् ।
महिला युगल तर्फ सेनाका अमिता गिरी र अञ्जना भट्टको जोडीले एपिएफका पुजा श्रेष्ठ र जेशिका गुरुङ्गको जोडी संग प्रतिस्पर्धा गर्ने छन् । यस्तै एपिएफका शोभा गौचन र सुनैना मुखियाको जोडीले सेनाका अनुमाया राई र रशिला महर्जनको जोडी संग प्रतिस्पर्धा गर्ने भएका छन् । गिरी र भट्टको जोडीले जेष्टका डिना पुन र ज्योती लिम्बुको जोडीलाई २१–१४, २१–१८ ले, पुजा र जेशिकाको जोडीले मोरङ्गका निता लम्साल र सिमा राजबंशीको जोडीलाई २१–८, २१–११ ले, शोभा र सुनैनाको जोडीले जेष्टकी मनिषा खड्का र तारा आलेको जोडीलाई २१– ९, २१–१७ ले तथा अनुमाया र रशिलाको जोडीले भोजपुरकी सिता राई र बाँकेकी संझना शर्माको जोडीलाई २१–११, २१–१० ले पराजित गरे ।
छात्र एकल तर्फ प्रिन्स दाहाल जित निकाल्दै अन्तिम चारमा प्रवेश गरे । दाहालले महेन्द्र नगरका प्रकाश चन्दलाई २१–८, २१–१० ले पाखा लगाउँदै सेमिफाईनलमा एपिएफका प्रियांशु सिंह क्षेत्रीसंगको भेट पक्का गरे । प्रियांशुले धनगढीका अमृत चौधरीलाई २१–१७, २१–१२ ले पराजित गरे । यस्तै एपिएफका पेम्बा शेर्पाले सेमिफाईनलमा सेनाका दिवस संकरसंगको भेट पक्का गरे । पेम्बाले मोरङ्गका उज्जल पोखरेललाई २१–१४, २१–१५ ले तथा दिवसले कञ्चनपुरका गोकुल जोरालाई २२–२०, २१–१३ ले पराजित गरे ।
छात्रा एकल तर्फ सेनाका रशिला महर्जन र रञ्जना भट्ट तथा मोरङ्गका निता लम्साल र सिमा राजबंशीले सेमिमा स्थान बनाए । रशिलाले जेष्ट ब्याडमिन्टनकी अनुषा न्यौपानेलाई २१–६, २१–५ ले पराजित गर्दै निता लम्सालसंग भेट पक्का गरिन् । निताले मोरङ्गकै रोज पाण्डेलाई २१ । ७, २१ । ८ ले जित हात पारिन् । यस्तै रञ्जनाले विरगंजकी स्मृती राईलाई २१–१३, २१–१४ ले तथा सिमाले झापाकी अञ्जना राईलाई २१–८, २१– ९ ले पाखा लगाए ।