पूर्वाञ्चल खबर
काठमाडौं / काठमाडौंको शंखमूलमा रहेको साहारा नेशनल स्कूलका विद्यार्थीले आफैले बनाएको ड्रोन उडाएका छन । विज्ञान प्रदर्शनी कार्यक्रमको आयोजना गरी साहाराले विद्यार्थीहरुहरुले विज्ञान प्रविधिमा गरेको विकास र हासिल गरेको ज्ञानलाई प्रस्तुत गरेको हो ।
बाग्मती नदी किनारमा रहेको साहारा स्कूलले गरेको विज्ञान प्रदर्शनीमा सबैभन्दा आकर्षणका केन्द्र ड्रोन र रोबोट बनेका थिए । ड्रोन प्रविधि अहिलेको सबैको आकर्षण बनेको छ । ड्रोनमा विभिन्न खालका प्रविधि तथा सामानहरु जोडेर दैनिक जीवनका कामकाजदेखि उच्च सैन्य कार्यमा समेत प्रयोग गर्न थालिएको छ । सोही प्रविधिलाई साहाराका विद्यार्थीले प्रस्तुत गरेका हुन् । ड्रोन प्रविधिलाई सरलीकृत गरी नेपालमै बनाउन सकिने सम्भावना साहाराका विद्यार्थीहरुले देखाएका छन् । प्रदर्शनीका क्रममा उनीहरुले अवसर पाए नेपालमै व्यवसायिक रुपमा ड्रोन निर्माण गर्न सकिने दावी गरे ।
साहाराका विद्यार्थीहरुले एप कन्ट्रोल रोबोट र लाइन फ्लोइङ रोबोट पनि बनाएका छन् । स्मार्टफोनबाट चलाइने एप कन्ट्रोल रोबोटलाई मानिसले दैनिक जीवनका काममा प्रयोग गर्न सकिने उनीहरु बताउँछन् । विश्वमा विकास भइरहेका रोबोटहरुको ब्रेन नै यही एप कन्ट्रोल रोबोट प्रविधि भएको उनीहरुको भनाई छ । पछिल्लो समय यस्ता रोबोटहरु रेस्टुरेन्टमा ग्राहकलाई सेवा गर्ने, ठूला ठूला तौलका सामानहरु उचाल्ने जस्ता कामकाजमा पनि प्रयोग गरिन थालिएका छन् ।
प्रदर्शनीमा लाइट फ्लोइङ रोबोट प्रविधि पनि राखिएको छ । यो रोबोटलाई ठूला ठूला उद्योगहरुमा प्रयोग गर्न सकिने उनीहरु बताउँछन । खासगरी ठूलो ठूलो तौलका सामानहरु उचाल्नका लागि यो रोबोट प्रयोग गरिन्छ । साथै घरहरुमा सरसफाई, होटेलहरुमा सामानहरु एक ठाउँबाट अर्को ठाउँमा सार्नका लागि पनि यो रोबोट प्रयोग गर्न सकिनै उनीहरु बताउँछन् ।
प्रदर्शनीमा आँखा देख्न नसक्ने मान्छेहरुका लागि प्रयोग गरिने ब्लाइन्ड स्टिक बनाउने विधि पनि विद्यार्थीहरुले प्रस्तुत गरेका छन् । अगाडि कुनै वस्तु अगाडि छ भने त्यसलाई छुने बित्तिकै लठ्ठीले सिग्नल दिने र प्रयोगकर्ता सचेत हुने गर्दछन् ।
कक्षा नर्सरीदेखि १० कक्षासम्मका विद्यार्थीहरु यस प्रदर्शनीमा सहभागी भएका छन् । जसमा सानासाना कक्षाका बालबालिकाले सजिलै बुझ्न सक्ने गरी चिडियाखाना, फलफूलका बगैचा, जंगली जीवन, जनावरका प्रकारहरुको नमूना पनि प्रस्तुत गरेका छन् । साथै उनीहरुले गाउँ र सहरको स्यान्ड मोडेल बनाएर त्यसको फरक देखाएका छन् ।
कार्यक्रममा बोल्दै स्कूलका प्रिन्सिपल देबेन्द्र बिक्रम भट्टराईले शिक्षालाई प्रविधिसँग जोडन तथा ब्यवहारिक शिक्षालाइ प्राथमिकता दिन यो प्रदर्शनी गरिएको बताए । यसले विद्यार्थीको सिकाइलाई अझ मजबुत र व्यवहारिक बनाउने उनले विश्वास व्यक्त गरे । साहाराले विद्यार्थीको चौतर्फी विकासका लागि पाठ्यपुस्तकका अतिरिक्त फुटबल, मार्सल आर्ट, नृत्य, गायन, बाद्यवादनका कक्षाहरु पनि विद्यालयमै सञ्चालन गर्दै आएको समेत उनले जानकारी दिए ।
प्रिन्सिपल भट्टराईले साहारामा अन्तरक्रियात्मक विधिद्वारा विद्यार्थीको सिकाई प्रक्रियालाई व्यवस्थित गर्ने गरेको, विभिन्न प्रयोगात्मक कक्षाहरुमा जोड गर्दै ती प्रोजेक्टको प्रस्तुतिकरण गराउने गरेको बताए । त्यसले विद्यार्थीमा नेतृत्व क्षमता बढाउनुका साथै सिकाई प्रक्रिया पनि मजबुत बनाउने गरेको उनले आफ्नो अनुभव सुनाए ।
साहाराको विज्ञान प्रदर्शनीमा ३६ वटा फरक फरक प्रकृतिका स्टलहरु राखिएका छन् । जसमा उच्च प्रविधिका ड्रोन र मानिसको दैनिक कामकाजमा समेत सहयोग गर्ने रोबोटदेखि वातावरण विज्ञान, भौतिक र खगोल विज्ञान, प्रकृति विज्ञान र मानव शरिरका बनौटसँग सम्बन्धित प्रविधिहरु रहेका छन् ।