पूर्वाञ्चल खबर
विराटनगर / कांग्रेसले बलियो प्रतिपक्षी उपस्थिति देखाउन संसद अवरोध गर्नु पर्ने नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले बताएका छन् ।
दुई तिहाईको दम्भका भरमा कम्युनिष्ट सरकारले देशलाई उँधोगतितर्फ लग्न थालेकोले कांग्रेसले संसदबाटै सरकारलाई खबरदारी गर्नु पर्ने डा. कोइरालाले जोड दिए ।
नेपाल प्रेस युनियन मोरङले आज विराटनगर आयोजना गरेको पत्रकार भेटघाटमा डा.कोइरालाले भने, ’कांग्रेसले जुन भूमिका खेल्नुपर्ने हो खेल्न सकेको छैन् अब सरकारले गरेको मनोमानीको जवाफ संसदबाटै खोज्नुपर्छ । म त भन्दै छु संसद नै रोक्नुपर्छ ।’
डा.कोइरालाले देशमा सरकार नै नभएको जनताले महसुस गर्न थालेको टिप्पणी गर्दै कार्यकारी राष्ट्रपतिलाई जस्तो अहिले किन प्रहरी प्रतिष्ठान, महंगो गाडी र हेलिकप्टर चाहिएको भन्दै प्रश्न गरे, ’के एक्जुकेटिभ प्रेसिडेन्टले जे मन लाग्यो त्यही गर्ने?’ उनले देश सरकारबिहीन जस्तो भएको आरोप लगाए ।
डा.कोइरालाले सरकारले एसिया प्यासिफिक सम्मेलन गराएर झन् बद्नामी कमाएको टिप्पणी गर्दै देशका प्रधानमन्त्री बालुवाटार छाडेर तीन दिनसम्म होटलमा बस्दा निकै नराम्रो सन्देश गएको टिप्पणी गर्दै भने, ’प्रधानमन्त्रीले एक लाख डलर मन्त्रिपरिषद्ले निर्णय नगरी लिन मिल्छ?’
पार्टीको सभापति लिगेसीको हिसाबले मात्र कोही पनि बन्न नसक्ने बताउँदै अबको पार्टीको १४ औं महाधिवेशनको अवधिसम्ममा समय फेरिने बताए । डा. कोइरालाले भने, तीन कोइराला मध्ये एक पार्टी सभापति बन्न सक्ने स्पस्ट पादै उनले आफुले हतार गरेर सभापतिको घोषणा नगर्ने स्पस्ट पारे । उम्मेदवारी घोषणा गर्ने अहिले बेला भैसकेको छैन उनले भने , हतार गर्नु हुन्न , खोलामा धेरै पानी बगिरहेको हुन्छ
संघीय स्वरुपमा लैजान विधान परिवर्तन भएपनि कतिपय बुँदामा अहिले पनि आफ्नो असहमति भएको बताउँदै डा. कोइरालाले भने, ’जस्तो क्लस्टरवाइज आरक्षणमा एक पटक मात्र गरेर त्यसपछि प्रतिस्पर्धा नै गरौं भन्ने हाम्रो माग छ ।’ कांग्रेसको संशोधित विधानअनुसार सह–महामन्त्रीमा आरक्षण राखिएको उनले जानकारी दिए ।
धर्म र राजनीति एक ठाउँमा राख्दा अफ्ठेरो पर्ने बताउँदै डा. कोइरालाले कांग्रेस महासमिति बैठकमा हिन्दू राष्ट्रको एजेन्डाबारे चर्काचर्की रुपमा कुरा उठेको चर्चा समेत गरे । महासमिति सदस्यले यो विषयमा हस्ताक्षर अभियान नै चलाएको बताउँदै उनले भने, ’तर कांग्रेसको अहिलेको धार्मिक नीति भनेको धार्मिक स्वतन्त्रता, धार्मिक सहिष्णुता र सद्भाव हो।’उनले कुनै पनि प्रलोभनमा धर्म परिवर्तन गराउन भने नपाइने बताए ।