पूर्वाञ्चल खबर
विराटनगर । डेढ दशक यता विराटनगरमा सुन चाँदी पसल सञ्चालन गरिरएका एक व्यक्ती करोडौ रुपैया उठाएर परिवार सहित फरार भएका छन् ।
विराटनगर महानगरपालिका–७ जलजला चोकमा ॐ लक्ष्मी ज्वेलर्स सञ्चालन गरिरहेका शिशु भन्ने सन्तोषकुमार बेगवानी बैंक र सर्वसाधरणको करोडौ रुपैयाँ उठाएर परिवार सहित फरार भएका हुन् । तीन वटा बैंकको करिब २७ करोड रुपैयाँ तथा सर्वसाधारण र व्यापारीको करिब १५ करोड रुपैयाँ ऋण लिएर बेगवानी भारत भागेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
विराटनगरमा स्वर्गीय जतनलाल बेगवनी करिव ५० बर्ष अघिदेखि सुरु गरेको सुनको व्यापार छोरा सन्तोषले पनि गर्दै आएका थिए । जतनलालका तीन छोरामध्ये दुई छोराले बुबाले खोलेको महालक्ष्मी ज्वेलर्स नाममा विराटनगर–७ जलजला चोक र मेन रोडमा सञ्चालन गरिरहेका छन् । दाजुसँग छुट्टिएर सन्तोषले ॐ लक्ष्मी ज्वेलर्स सञ्चालन गरेर बसेका थिए ।
चाँदीको बढी कारोवार गर्दै आएका बेगवनी चाँदीको बजार भाउ घटेपछि देश नै छाडेर भागेको बताइएको छ । ५७ बर्षीय शिशुका तीन छोरामध्ये कान्छा छोरा कुलदिप बेङग्लोरमा व्यापार गर्दै आएका छन् ।
जेठा प्रदिपकुमार र माइला सन्दिप भने उनीसँगै विराटनगरमा थिए । केही वर्षयता ऋणमा डुबेका सन्तोषले व्यपारी र सर्वसाधारणबाट पनि मोटो रकम उठाएका थिए । ‘पसलमा चाँदीका भाँडाबाहेक केही सामग्री थिएन ।’ स्रोतले भन्यो ‘ सटर बन्द गरेर उनी परिवारसहित भारत प्रवेश गरेका छन् ।’
सर्वसाधारणको सुन धितो राखेर ऋण समेत दिदै आएका सन्तोषले लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक, प्राइम बैंकबाट २७ करोड भन्दा बढी रुपैयाँ ऋण लिएको उनीसँग कारोवार गरिरहेका व्यक्तिहरु बताउँछन् ।
विराटनगरमा रहेको सम्पतीलेसमेत ऋण तिर्न नसक्ने भएपछि उनी भागेको स्रोतको दाबी छ । चाँदी भारत लैजाने क्रममा केही समय पहिले रानीबाट चाँदी समेत समातिएको थियो ।
लक्ष्मी बैंकबाट ८ करोड, ग्लोबल आइएमईबाट ३ करोड र प्राइमबाट करिब १६ करोड रुपैया ऋण लिएका थिए । त्यस्तै सर्वसाधरणको र व्यपारीहरुबाट १५ करोड भन्दा बढी रकम ऋण लिएका थिए ।
पसलमा धितो राखेको सुन लिएर सञ्चालक भागेपछि पीडित बनेका सर्बसाधरणले प्रहरीले उजुरी गरेका छन् । व्यक्तीगत ऋण र धितो राखेर ऋण लिएका सर्वसाधरणहरु प्रहरीमा उजुरी गर्न पुगेका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले ठगिएकाहरुले प्रहरीमा उजुरी दिएको बताए । आज दिउँसोदेखि व्यक्तीगत र समुहगत रुपमा उजुरी आइरहेको श्रेष्ठले बताए । व्यापारी भागेको बिषयमा अनुसन्धानपनि गरिरहेको उनले बताए ।