AArya
RUMPUM
animated ellipse animated ellipse

डिजल चोरी प्रकरण : निर्देशक यादवलाई जोगाउन मन्त्रीको दवाव, सिआबिले छानविन थालेपछि कर्मचारीको भागाभाग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ मंसिर २०७५, शनिबार ०८:५३
3
Shares
विराटनगर / ट्यांकरमा लगाइएको अत्याधुनिक तालाको चाबी ट्याङ्कर चालकसँगकै मिलेमतोमा बाहिर पुर्याएर डिजल चोरी गराएको आरोप लागेका नेपाल आयल निगम प्रदेश कार्यालय विराटनगरका निर्देशक दिनेशकुमार यादवलाई जोगाउन उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले निगम प्रशासनलाई दवाव दिएको समाचार बाबुराम भण्डारीले आजको उदघोष दैनिकमा लेखेका छन् ।

डिजल चोरीकाण्डमा छानविन गरिरहेको छानविन समितिले ट्याङ्करको ताला खोल्ने चाबी नै बाहिर पुर्याइएको निश्कर्षमा पुगेपछि निर्देशक यादवमाथि दवाव बढेको हो । उनले आफूले सफाई नपाउने अवस्था देखेपछि आपूर्तिमन्त्री यादवमार्फत निगमको बोर्डमै दबाब दिन लगाएका हुन् ।

अत्याधुनिक ताला लगाएको ट्याङ्करबाट डिजल चोरिएको घटना लगत्तै निर्देशक यादवलाई निलम्बनमा राखिनु पर्ने निगम प्रशासनभित्र माग थियो । तर मन्त्री यादवकै दवावका कारण निर्देशक यादवलाई घटना मिलाउन निलम्बन नगरिएको नेपाल आयल निगमको व्यवस्थापन स्रोतले आरोप लगाएको छ ।

यता ट्याङ्कर चालक सर्वेन्द स्वर्णकारलाई ट्याङ्करको ढक्कन बिगारेर चोरी गरेको भन्ने आरोप कबुल गराएर उम्किन खोजेका निर्देशक यादव अन्ततः डिजल चोरी घटनामा झनझन मुछिदै गएका छन् । छानविन समितिले अनुसन्धानका क्रममा बताइएका विभिन्न कारणमा चित्त नबुझाएपछि यादवलाई अझ ठुलो तनाव भएको हो ।

निगमको विराटनगर डिपोमा प्राविधिक अनुसन्धान तथा कर्मचारी र सम्वद्ध ढुवानी व्यवसायीसँग बयान सकेर बिहीबार काठमाडौं फर्किएको छानविन समितिले चार दिन लगाएर भारतीय आयल कर्पोरेशनको बरौनीस्थित डिपोमै पुगेर थप गरेको थियो । उक्त अनुसन्धानका क्रममा समेत ट्यांकरको ताला खोल्ने चाबी नै बाहिरिएको निश्कर्षमा छानविन समिति पुगेको निगम स्रोतको दाबी छ ।

छानविन समितिले बरैनीमा ट्यांकरमा डिजल भर्ने डिजिटल प्रणालीको सुक्ष्म अध्ययनगर्दा डिजल चोरी गरिएको को१ख ५९६५ नम्बरको ट्यांकरमा त्यसदिन भरिएकोे डिजलको परिणाममा कुनै त्रुटि नभएको पत्ता लगाएको हो । सोही निश्कर्षका साथ बरौनीबाट विराटनगर फर्किएको छानविन टोलीले निगमका निर्देशक यादवसँग औपचारिक कुराकानी नगरी सिधै काठमाडौं फर्किएको जनाइएको छ ।

ट्यांकर चालक स्वर्णकारले आफूलाई घटनाबारे केही थाहा नभएको बताउँदै आएका थिए । निर्देशक यादवले पनि उतैबाट (इण्डियन आयल निगम) कैफियत भएको दाबी गरेका थिए । तर अनुसन्धानका क्रममा छानविन समिति भने चाबी बाहिरिएकै कारण चोरी भएको निश्कर्षको नजिक पुगेको हो ।

छानविन टोली काठमाडौं फर्किएलगत्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले बिहीबारबाटै अनुसन्धान थालेको नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए । उनले आइतबार छानविन समितिले प्रतिवेदन बुझाउने बताए । उनले आपूर्ति मन्त्रालयसँगको सहकार्यमा सीआईबीले अनुसन्धान थालेको बताए ।

सीआईबी आएपछि कर्मचारीको भागभाग
सीआईबीले घटनाको अनुसन्धान थालेलगत्तै निगमका निर्देशक यादवसहित कर्मचारीहरुबीच भागभाग मच्चिएको निगम स्रोतले जनाएको छ । निर्देशक यादवलाई तत्कालै निलम्बन गरी केन्द्रीय कार्यालयमा तान्ने हल्ला चलेका कारण उनी निकट कर्मचारीहरु अनुसन्धानको दायराबाट बच्न भन्दै विदामा बस्न थालेको जनाइएको छ ।

बरौनीस्थित इण्डियन आयल कर्पोरेशनबाट नेपाल आयल निगमको विराटनगर डिपोमा ल्याइएको २४८४ लिटर डिजल ट्यांकरको अत्याधुनिक तालाचाबी यथावत रहेकै अवस्थामा हराएको थियो । उक्त ताला खोल्ने दुईवटा चाबीमध्ये एउटा बरौनी र अर्को आयल निगम विराटनगरमा राखिंदै आएको थियो । सोही घटनाको छानविनका लागि निगमकी उपनिर्देशक तथा चार्टर्ड एकाउन्टेन अञ्जना पोखरेलको संयोजकत्वमा इन्जिनियर प्रमेश पुडासैनी र सहायक प्रवन्धक राजकुमार केसी सम्मिलित छानविन समिति बनाइएको थियो । छानविन समितिलाई निगमको पूर्णअधिकार दिएर पठाइएको निमित्त निर्देशक भट्टराईले बताएका थिए ।

निर्देशक यादवले भने ६ महिनासम्म चालक स्वर्णकारलाई ट्यांकर चलाउन प्रतिबन्ध लगाइएको र संलग्न ट्यांकरलाई तीन महिनासम्म इन्धन बोक्न प्रतिबन्ध लगाउने निर्णय आफैंले गरेको भन्दै उम्किने दाउमा छन् । उनी उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवकै जोडबलमा निगमको विराटनगर प्रदेश कार्यालयका निर्देशक बनेर आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर