RUMPUM
animated ellipse animated ellipse

सिंगो गाउँ शोकमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ असार २०७५, आईतवार ०८:२८
3
Shares
लमही /मनहरि चौधरीका आँखा शुक्रबारदेखि ओभाएका छैनन्। उनी बिस्ताराको बिस्तारै छिन्। पति सुबेर चौधरीको शुक्रबार मुस्ताङमा मुत्यु भएको खबर सुनेदेखि उनी विक्षिप्त छिन्। राप्ती गाउँपालिका–१ नयाँ बस्तीकी ३९ वर्षीया मनहरिले पतिको मृत्युको खबर खेतमा काम गर्दागर्दै सुनेकी थिइन्। घर बनाएको ४० हजार ऋण तिर्न सपना बोकेर सुबेर मुस्ताङ पुगेका थिए।

घरको एक मात्र कमाउने व्यक्तिको अकल्पनीय मृत्युको खबरले मनहरि मात्रै होइन, चौधरीका बूढा आमाबाबु र नाबालक छोराछोरी पनि शोकसन्तप्त छन्।

मजदुरी गरेर परिवार पाल्दै आएका सुबेर गत चैतमा स्थानीय रमेश घर्तीको सहयोगमा मुस्ताङ पुगेका थिए। ‘घर बनाउँदा समूहबाट लिएको ४० हजार रूपैयाँ थियो’, मनहरिले भक्कानिँदै भनिन्, ‘भदौसम्म तिरिसक्नुपर्ने भाका छ, ऋण तिर्न भनेर मुस्ताङ जानुभएको थियो, हामीलाई नै छाडेर जानुभयो।’

सुबेर घरमा हुँदा गाडी चालक थिए। गाडी मात्रै चलाएर कमाइ राम्रो नभएको भन्दै उनी धेरै कमाएर छिट्टै ऋण चुक्ता गर्न मुस्ताङ गएका थिए।

सुबेरकी जेठी छोरी सुनीता चौधरी आर्थिक अभावकै कारण विद्यालय छाडेर घरमा बसेकी छिन् भने छोरा सोना चौधरी स्थानीय विद्यालयमा कक्षा ९ मा पढछन्। अर्की छोरी सरिष्मा चौधरी सात कक्षामा पढ्छिन्।

राप्ती–१ नयाँ बस्तीकी कविता घर्तीको पनि सोही दुर्घटनामा मुत्यु भएको छ। घरमा रहेकी १३ वर्षीया छोरी सिर्जना बेहोसजस्तै छिन्। ७० हिउँद काटेका सासूससुरा स्तब्ध छन्। कविताको खरले छाएको एउटा घरमा छिमेकीहरू पनि शोक मनाउन आइपुगेका छन्।

कविता पति रमेशसँगै काम गर्न गएकी थिइन्। रमेश भने सकुशल रहेका छन्। बैशाखमा मुस्ताङ पुगेकी कविता पैसा कमाएर छोरीलाई राम्रोसँग पढाउने योजनामा थिइन्। कक्षा सातमा पढ्दै गरेकी छोरी सिर्जनालाई राम्रो उच्च शिक्षा बढाउने उनको सोच थियो।

मुस्ताङको टिपर दुर्घटनामा परी दाङका छ जनाको शुुक्रबार ज्यान गएको थियो। रोल्पाका रास्टे रोकाको परिवार पनि राप्ती गाउँपालिकामै बस्दै आएको छ। यो घटनाले सिंगो दाङ शोकमा डुबेको छ। राजपुर गाउँपालिकाका २ जना र राप्ती गाउँपालिकाका ४ जनाको मृत्यु भएको हो।

राजपुरका कमल बुढा, बालकुमार घर्ती, राप्ती नयाँ बस्तीका कविता घर्ती, सुबेर चोैधरी र वडा नं ९ का शान्ति थापा र गुरुदत्त थापाकोे मृत्यु भएको छ। गुरुदत्त र शान्ती पति–पत्नी हुन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर