खबर पूर्वाञ्चल
पार्टीको केन्द्रीय कमिटी र गठबन्धनले गरेको निर्णयको विरूद्धमा लाग्ने जो कोहीलाई पनि आगामी निर्वाचनमा उम्मेदवार नबनाइने र पार्टीभित्र पनि स्थान नदिइने गृहमन्त्री खाणले रुपन्देहीको तिलोत्तमास्थित आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै सो कुरा बताएका हुन् ।
गृहमन्त्री खाणले भने, ‘गठबन्धनविरूद्ध अहिले जो–जो लाग्नुभएको छ, उहाँहरूलाई पार्टीले कारबाही गर्नेछ, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको टिकट दिने बेला उहाँहरूको रेकर्ड हेरिने छ, पार्टीभित्र पनि उहाँहरूको नाम जगेडामा राखिने छ ।’
खाणले वर्तमान सरकार गठबन्धनको जगमै बनेकोले नेपाली कांग्रेस गठबन्धनको निर्णयबाट भाग्न नमिल्ने उनले बताए ।
‘गठबन्धनबाटै अहिलेको सरकार बनेको हो, नेपाली कांग्रेसको १४ औं महाधिवेशनले समेत निर्वाचनसम्म गठबन्धनलाई जोगाउने निर्णय अनुमोदन गरिसकेकोले गठबन्धन जोगाउनु हाम्रो मूल दायित्व हो,’ उनले भने ।
गृहमन्त्री खाणले स्थानीय तहको निर्वाचन देशभर एकैपटक हुँदा सुरक्षा चुनौती थपिएको भए पनि सरकार सुरक्षा व्यवस्था मजबुत बनाउन लागिरहेको बताए ।