पूर्वाञ्चल खबर
बाढी र पहिरोका कारण राजधानी जोडिने सडक अवरुद्ध भएका छन भने देशभरका मुख्य राजमार्ग अवरुद्ध हुंदा हजारौ यात्री बीच बाटोमा नै अलपत्र परेका छन ।
अबिरल बर्षाका कारण तराईका बिभिन्न क्षेत्र डुवानमा परेका छन भने मुलुक भरका प्रमुख नदीहरुमा पानीको बहाव अत्याधिक मात्रामा बढेको कारण स्थानीय प्रशासनले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन निर्देशन समेत दिएको छ ।
अबिरल बर्षापछि आएको बाढीमा परी राजधानीको महादेव खोलाले बगाउदा धमस्थलीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रकाश पुर्कुटी रहेका छन । उनको शवलाई प्रहरीले पोष्टमार्टमकालागि अस्पताल लगेको छ ।
पूर्वी र मध्य भेगमा भारी बर्षा हुने
केही दिनयताको निरन्तर झरी अझै जारी रहने भएको छ । आज मंगलबार मुलुकको पूर्वी र मध्यभेगका तराई र पहाडी क्षेत्रमा मध्यमदेखि अध्याधिक भारी वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अन्यत्र मध्यम स्तरको वर्षा भएपनि पूर्वी र मध्य भेगमा भारी वर्षा समेत हुन सक्ने मौसमी गतिविधी विकास भएको महाशाखाका मौसमविद् बरुण पौडेलले बताउनुभयो । ‘२४ घन्टाको अवधिमा १ सय मिलिमिटर वा सो भन्दा बढी वर्षा भएमा भारी वर्षाका रुपमा बुझ्ने गरिन्छ, मंगलबार पूर्वी र मध्य क्षेत्रमा भारी वर्षाको संभावना बढी छ’–उहाँले भन्नुभयो ।
भोली बुधवारदेखि अधिकांश भेगमा भारी वर्षा केही सुधार भएपनि सामान्य झरी प्रभाव भने यथावत रहने पौडेलले जानकारी दिनुभयो । सोमबार साँझसम्ममा भैरहवामा सबैभन्दा बढी २ सय २६ दशमलव ९ मिलिमिटर वर्षा भएको महाशाखाको तथ्यांक छ । त्यसैगरी नेपालगञ्जमा २ सय ६, सिमरामा १ सय ८६, दाङमा १ सय ४१, धनगढीमा १ सय ४० दशमलव ७, विरेन्द्रनगरमा १ सय १६ दशमलव ९ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।
ठूलो वर्षाको संभावना यथावत रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागको वाढी पुर्वानुमान शाखाले नदी र जलाधार क्षेत्र आसपासका वस्तीमा उच्च सर्तकता अपनाउन आग्रह गरेको छ । कोसी, नारायणी, कर्णाली र महाकालीका शाखा नदीहरुको बहाव बढेर सर्तकता तह पुग्ने शाखाले जनाएको छ । महाभारत र चुरेबाट बहने पूर्वी र मध्य भेगका विरिङ, कन्काई, कमला, खाँडो, गागन, रातु बागमती लगायतका नदी र खहरेमा जल सतह खतराको तहभन्दा माथि पुग्ने जनाउँदै सर्तक रहन आग्रह गरिएको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकले छापेको छ ।