पूर्वाञ्चल खबर
वातावरण प्रभाव मुल्यांकन प्रतिवेदनले तोकेको भन्दा तीन गुणा बढी स्रोत उत्खनन् गर्दा खोला गहिरिएको छ भने दुवै किनारका खेतियोग्य जमिन सिंचाई सुविधाबाट बञ्चित हुने अवस्था सृजना भएको छ ।
सरकारले प्राकृतिक स्रोत उत्खनन् तथा अनुगमन गर्ने अधिकार स्थानीय तहलाई दिएको छ । स्थानीय तहले त्यसको संरक्षण तथा अनुगमन गर्नुपर्नेमा गाउँपालिकाका अध्यक्ष र तीन जना वडा अध्यक्षहरु नै क्रसर उद्योगका सञ्चालक रहेकोले खोलामा अबैध धन्दा फस्टाएको हो ।
जनप्रतिनिधिहरु नै ढुंगागिटि उत्खनन् गर्ने क्रसर उद्योग सञ्चालक भएकोले प्राकृतिक स्रोतको व्यापक दोहन भइरहँदा पनि स्थानीय तह मौन छ । करोडौंको स्रोत चोरी तस्करी गर्ने कार्यमा जनप्रतिनिधि आफैं जुटेपछि स्थानीय भने निरास र आक्रोशित छन् ।
ठेकेदारबाट प्रभावित भएर जिल्ला समन्वय समिति र जिल्ला प्रशासनले पनि अबैध काम रोक्न चासो नदिएको स्थानीयको गुनासो छ ।
केरावारी गाउँपालिकाका अध्यक्ष रोहित कार्की पुराना क्रसर व्यवसायी हुनुहुन्छ । त्यस्तै वडा नम्वर ३ का अध्यक्ष भक्त श्रेष्ठ, वडा नम्वर ८ का मनोज खड्का र वडा नम्वर १० का जंग खवासले खदम खोलामा क्रसर उद्योग स्थापना गरेका छन् ।
अध्यक्ष कार्कीको कृष्ण क्रसर, श्रेष्ठको शिब र वडाध्यक्षद्धयको महादेव क्रसर उद्योग रहेको छ । मापदण्ड विपरित चुरे तथा खोला क्षेत्रमा स्थापना भएका ती क्रसर उद्योगले व्यापक रुपमा नदिजन्य पदार्थ उत्खनन् गरी बिक्री गरिरहेका छन् ।
जिल्ला समन्वय समितिले तोकेको परिमाणभन्दा धेरै उत्खनन् गरेर दुरुपयोग गरेको भन्दै स्थानीयले नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ६ महिना अघि उजुरी दिएका थिए । उजुरीपछि आएको छानविन टोलीले तीन गुणा बढी उत्खनन् गरेको प्रतिवेदन दिएपनि थप कारवाही भएको छैन ।
चुरे खदम संरक्षण समितिका अध्यक्ष बलबहादुर भुजेलले खदम खोलाको अवस्था भयावह भइसकेको बताए । ‘हाम्रा जनप्रतिनिधि नै खोलाको स्रोत व्यापक दुरुपयोग गरेर आर्जन गर्न लागेपछि पर्यावरणमा प्रतिकुल प्रभाव मात्र परेको छैन ।
खोला किनारका दुवै वस्ती खेतियोग्य जमिन सुख्खाग्रस्त भएको छ’ उहाँले भने । खोला गहिरिएपछि पानीको लेवल तल झरेको छ भने खोला छेकेर खेलमा सिंचाई गर्ने किसानहरुले पम्पबाट पानी तान्नुपर्ने भइसकेको छ ।
यस्तो अवस्था ल्याउन जनप्रतिनिधिहरु जिम्मेवार रहेको भन्दै स्थानीयले निरन्तर विरोध गर्दै आएका केरावारी गाउँपालिकाकी उपाध्यक्ष शान्तिकुमारी लिम्बूले पनि खोलाको अवस्था अत्यासलाग्दो भइसकेको भन्दै जनप्रतिनिधिकै कारण अबैध धन्दा नियन्त्रण गर्न नसकेको निरिहता प्रकट गरे ।
गाउँपालिकाका जनप्रतिनिधिहरुले नै चलाएको उद्योग भएकोले पनि दुरुपयोग नियन्त्रण गर्न आफूहरुलाई कठिन भएको उहाँको भनाइ छ ।
खोलामा भइरहेको स्रोत दुरुपयोग रोक्नुपर्छ भन्दा विकास ठप्प पारेर विकास विरोधीको रुपमा चित्रित गरिदिने प्रयास हुने गरेको उपाध्यक्ष लिम्बूले बताउनुभयो । गाउँपालिका अध्यक्ष कार्कीले आफ्नो पदको दुरुपयोग गरेको भन्दै स्थानीय आक्रोशित छन् । यो खबर आजको जनविद्रोह दैनिकले छापेको छ ।