RUMPUM
animated ellipse animated ellipse

आरोहण गुरुकुलमा राष्ट्रिय महिला नाट्य महोत्सव

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ फाल्गुन २०७४, मंगलवार १६:४६
9
Shares
विराटनगर, २२ फागुन /नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थाको संयुक्त आयोजनामा मंगलबारदेखि विराटनगरमा राष्ट्रिय महिला नाट्य महोत्सव सुरु भएको छ ।

आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा नाट्य महोत्सव सुरु भएको हो । महोत्सवको १ नम्बर प्रदेशका आन्तरिक तथा कानुनमन्त्री हिक्मत कार्कीले उद्घाटन गरे । उनले नाटकको संवाद प्रस्तुत गरेर महोत्सवको उद्घाटन गरेका थिए । बिहीबारसम्म सञ्चालन हुने महोत्सवमा हरेक दिन तीनवटा नाटक मञ्चन हुनेछन् । आरोहण गुरुकुल, दहेजमुक्त मिथिला र मैथिली सेवा समिति सहआयोजक रहेको महोत्सवको पहिलो दिन प्रियका झाको लेखन तथा निर्देशन रहेको ‘कथा नई भेटल’, भरत गुरागाईंको ‘बन्द बाकस’ र कविता नेपालको ‘सुनामी’ नाटक मञ्चन गरिएको थियो । मैथिली भाषाको ‘कथा नई भेटल’ मा झा आफैं, नेपाली भाषाको ‘सुनामी’मा नेपाल आफैं र ‘बन्द बाकस’मा अनु श्रेष्ठले अभिनय गरे ।

हरेक नाटकमा विभिन्न समुदायको भाषा, संस्कृति झल्किन्छ । बुधबार ज्योति राईको ‘विसंगत’, वंसरी पाण्डेको ‘म रुपियाँ’ र वसन्ता सुनुवारको ‘वरी’ मञ्चन हुने नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका नाट्य विभाग प्रमुख रमेशरञ्जन झाले जानकारी गराए ।

काठमाडौं केन्द्रित रंगमञ्चलाई विकेन्द्रीकरण गर्ने उद्देश्यले नेपालमै पहिलोपटक महिला नाट्य महोत्सव गरिएको उनको भनाइ थियो । ‘महिलालाई रंगमञ्चमा आकर्षित गर्न महोत्सव गरिएको हो,’ उनले भने, ‘यसले रंगमञ्चमा महिलाको उपस्थिति बलियो हुने आशा लिएका छौं ।’

अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर आयोजित महोत्सवमा १० देखि ३० मिनेटका नाटक मञ्चन हुने सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले बताए । ‘तीन दिनसम्म मञ्चन हुने ९ वटा नाटकमा दर्शकले सिंगो नेपाल पाउनुहुनेछ,’ थापाले भने । निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।

उद्घाटन समारोहमा मन्त्री कार्कीले भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण र सम्वद्र्धनमा प्रदेश सरकार लागिपर्ने बताए । ‘प्रदेश सरकार भर्खरै गठन भई ऐन, कानुन बन्ने प्रक्रियामा छ,’ उनले थपे, ‘कस्तो ऐन कानुन बनाउँदा कला र साहित्य अनि संस्कृतिको विकास हुन्छ हामी त्यसैअनुसारको कानुन बनाउन तयार छौं ।’ कार्यक्रममा वरिष्ठ साहित्यकार दधिराज सुवेदी, प्राडा टंक न्यौपाने, कलाकार माया पौडेल ‘आशावादी,’ दहेजमुक्त मैथिलीका अन्तर्राष्ट्रिय संयोजक प्रविणनारायण चौधरी, राजनीतिकर्मी महेश रेग्मी, युवा उद्योगी सन्तोष चौधरी, समाजसेवी एसएन झा, भगवान झालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर