खबर पूर्वाञ्चल
प्रधानमन्त्री निवास बालुवाटारमा युवा तथा खेलकुद मन्त्रालयले आज आयोजना गरेको विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले खेलाडीहरूलाई नगदसहित प्रमाणपत्र वितरण गर्दै सफलताको लागि बधाई र शुभकामना व्यक्त गरे।
गत कात्तिक ७–१२ मा जापानमा भएको तेस्रो थाउलो वर्ल्ड कपमा कास्य पदक जितेका विजय सिँजालीलाई प्रधानमन्त्री ओलीले ६५ लाख रुपैयाँ नगदसहित सम्मान गरे।
त्यस्तै, फागुन २०–२५ मा इरानमा सम्पन्न छैटौँ एसियन महिला कबड्डी च्याम्पियनसिपमा कास्य पदक जितेकी मनमती विष्टसहित टोलीका खेलाडीलाई जनही १ लाख ५० हजार रुपैयाँको पुरस्कार प्रदान गरियो।
श्रीलङ्कामा भएको ‘काभा यु–२०’ पुरुष भलिबल च्याम्पियनसिपमा रजत पदक जित्ने अर्जुन नेपालीसहित खेलाडीलाई जनही ३ लाख रुपैयाँको पुरस्कार दिइएको छ। यी सबै सम्मान राष्ट्रिय खेलकुद विकास नियमावली–२०७९ र मन्त्रिपरिषद्को असार ९ गतेको निर्णयअनुसार गरिएको हो।
यस्तै, मलेसियामा सम्पन्न ‘एसिसी यु–१६ इस्ट जोन कप’ क्रिकेट प्रतियोगितामा उपाधि जित्ने विपिनप्रसाद शर्मा र टोलीलाई प्रधानमन्त्रीले स्वागत गर्दै बधाई दिएका छन्।
कार्यक्रममा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकासमा सरकारले उच्च प्राथमिकता दिएको उल्लेख गर्दै भने, “हामीले खेल क्षेत्रमा सङ्गठित प्रयास थालेको धेरै भएको छैन। अब खेलाडीहरू व्यावसायिक ढङ्गले अघि बढिरहेका छन्। देशको प्रतिष्ठा बढाउन योगदान गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु।”
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आगामी वर्षको बजेट खेलकुद क्षेत्रमा यस वर्षको भन्दा झन्डै दोब्बर विनियोजन गरिएको जानकारी दिँदै कीर्तिपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट मैदान अन्तिम चरणमा पुगेको र यसले खेलकुद क्षेत्रमा थप उत्साह ल्याएको बताए।