AArya
RUMPUM
animated ellipse animated ellipse

जनपथ माविले मनायो ६२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस 

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ माघ २०८२, बिहीबार १९:४१
315
Shares
विराटनगर/विराटनगरस्थित जनपथ माध्यमिक विद्यालयको ६२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ।

आज विद्यालयको प्राङ्गणमा विद्यालयले विद्यार्थीहरूलाई छात्रवृत्ति हस्तान्तरण, पूर्वविद्यार्थी र शिक्षकलाई सम्मान गर्दै कार्यक्रम सम्पन्न गरेको हो।

६२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा विद्यालयले विभिन्न दाताहरूले स्थापना गरेको अक्षयकोषहरूबाट प्राप्त रकमबाट कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीहरूलाई छात्रवृत्ति हस्तान्तरण गरिएको विद्यालयका प्राचार्य हरिप्रसाद पराजुलीले जानकारी दिए।

पराजुलीले विद्यालयले लामो समय विद्यालयमा सेवारत रही विद्यालयको शैक्षिक विकासमा योगदान गरेका पूर्वशिक्षक रेखादेवी नेपाल, शंकरप्रसाद सुवेदी र ईश्वरीकुमारी श्रेष्ठलाई पनि सम्मान गरेको बताए।

त्यस्तै, विद्यालयले शिक्षा सेवी सम्मानबाट शिक्षा विकास तथा समन्वय इकाई मोरङका पूर्व प्रमुख टंकप्रसाद गौतम र विद्यालयका पूर्व विद्यार्थी तथा हाल झापास्थित बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोजकुमार साहलाई समेत सम्मान गरेको थियो।

कार्यक्रममा विराटनगर – ९ निवासी यादवराज जोशीले आफ्नो श्रीमतीको नाममा २ लाख २५ हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष खडा गरि विद्यालयलाई हस्तान्तरण गरे।

पूर्वाञ्चल विश्वविद्यालयका उप-प्राध्यापक दिपेश बाँस्तोलाले आफ्नो बुबाआमाको नाममा १ लाख ११ हजार १ सय १ रुपैयाँको अक्षयकोष खडा गरि विद्यालयलाई रकम हस्तान्तरण गरे भने विद्यालयकी पूर्वशिक्षिका मेनुका श्रेष्ठले २२ हजार २ सय २२ रुपैयाँको अक्षयकोष खडा गरिन।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहित कोइरालाले अधिकांश न्यून आर्थिक हैसियत भएका परिवारका विद्यार्थीहरू अध्ययन गर्ने जनपथ विद्यालयले भौतिक संरचना स्थापनामा उल्लेखनीय प्रगति हासिल गरेको जानकारी गराउँदै विद्यालयले भौतिकसँगै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा जोड दिएर अघि बढिरहेको बताए। कोइरालाले विद्यालयको विकासमा सहयोग पुर्‍याउने दाताहरूप्रति विशेष धन्यवाद व्यक्त गरे।

कार्यक्रममा विद्यालयमा विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीहरूले सांस्कृतिक नृत्य प्रदर्शन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर