पूर्वाञ्चल खबर
एमालेका पोलिटब्यूरो सदस्यसमेत रहेका ढकालले सोही क्षेत्रबाट उम्मेदवार बनेका प्रतिस्पिर्धी उम्मेदवार शर्माले विभिन्न नाममा चटक देखाइरहेको र त्यो चटक अब नटिक्ने दाबी गरे ।
प्रेस चौतारी मोरङ र प्रेस सेन्टर मोरङले आज मोरङको बेलबारीमा गरेको पत्रकारसँग उम्मेदवार कार्यक्रममा बोल्दै ढकालले खाली मैदानमा शर्माले चटक देखाएको र अब आफूहरु गाउँगाउँमा कार्यक्रम लिएर गएपछि धेरै नटिक्ने बताएका हुन् । ‘आफ्नो अनुहारले नपुगेपछि मतदाता प्रभावित पार्न स्वास्थ्य शिविरका नाममा नोबेल अस्पताललाई मोहरा बनाइएको छ,’ ढकालले भने, ‘अस्पतालका अगाडिका सुकुम्बासी र दलितहरुले उपचार नपाउने तर, निर्वाचन प्रभावित पार्नका लागि ३ नम्बर क्षेत्रबाट बिरामी ओसार्ने चटक धेरै टिक्दैन ।’
देशको आर्थिक समृद्धि र विकासका लागि बामगठबन्धनले जित्ने दाबी गर्दै ढकालले ३ नम्बर क्षेत्रमा पर्ने पूर्वाञ्चल विश्वविद्यालयमाफर्त सञ्चालन हुन लागेको मेडिकल कलेजलाई धरासायी बनाउनेहरुले स्वास्थ्य क्षेत्रको जिम्मा लिन खोजेको बताए । ‘पूर्वाञ्चल विश्वविद्यालयको संरचना रहेको गोठगाउँमा मेडिकल कलेज खोल्न नदिनेहरुले गाडीका गाडी मान्छे ओसारेर चुनाव जित्ने प्रपञ्च गरेका छन्,’ ढकालले भने, ‘मेडिकल माफिया र गैर राजनीतिक मान्छेहरुको चलखेलले अझै यो कलेज सञ्चालन गर्न दिइरहेका छैनन् ।’ आफूले जितेर गएपछि पूर्वाञ्चल विश्वविद्यालय सञ्चालन गरेर घरआँगनमै उपचार पाउने व्यवस्था गरिने ढकालले बताए ।
सोही कार्यक्रममा बोल्दै क्षेत्र नम्बर ३ (क) की उम्मेदवार गीता तिम्सिनाले जनताको स्वास्थ्यको अधिकार सुनिश्चित गरिने, रमाइलो र पथरी क्याम्पसलाई उत्कृष्ट बनाउने, सरकारी विद्यालयको स्तरउन्नतीका लागि काम गर्ने, कृषिको आधुनिकीकरण र विकासका लागि पहल गर्ने, कृषि सडक तथा पूर्वाधार निर्माणमा जोड दिने बताइन् । आफूले जितेर गएपछि महिलाहरुको हक अधिकारका लागि पनि आफू लाग्ने बताउँदै तिम्सिनाले गरिवी निवारण र भूमिहिन किसान र सुकुम्बासीका लागि जग्गाको व्यवस्थापन गर्ने, खोला किनारका बस्तीको उचित व्यवस्थापन गरिने र नदि तथा खोला कटान नियन्त्रणका लागि बाँध निर्माण गर्ने आफ्नो प्राथमिकता रहेको बताइन् ।
यस्तै क्षेत्र नम्बर ३ (ख)का उम्मेद्वार राजकुमार ओझाले पूर्वाञ्चल विश्वविद्यालय सञ्चालनको पहल गरिने, ४ कोशे जंगलको उचित व्यवस्थापन, विभिन्न जातीको जातीय संग्रहालय स्थापना गर्ने लगायतका योजना रहेको जानकारी दिए ।