पूर्वाञ्चल खबर

मन्त्री यादवले बदलिँदो श्रम बजारको माग र श्रमिकको आकांक्षालाई सम्बोधन गर्ने गरी पहिलोपटक श्रम नीति निर्माणको काम अघि बढाइएको तथा श्रम ऐन संशोधनको प्रक्रिया पनि अघि बढिरहेको जानकारी दिए।
सरकारले चालु वर्षलाई ‘रोजगार प्रवर्द्धन दशक’का रूपमा अघि बढाउँदै स्वदेशमै पर्याप्त रोजगारीका अवसर सिर्जना गरी युवा जनशक्तिलाई राष्ट्र निर्माणमा जोड्ने लक्ष्य लिएको उनले बताए।
कृषि, पर्यटन, हरित रोजगारी तथा केयर सेवाजस्ता क्षेत्रमा रोजगारीका कार्यक्रम अघि बढाइरहेको उल्लेख गर्दै मन्त्री यादवले रोजगारदाता र रोजगारी खोज्ने व्यक्तिबीच प्रभावकारी समन्वयका लागि ‘श्रम संसार’ प्रणालीलाई समेत स्तरोन्नति गरिएको बताए।
श्रम तथा रोजगार कार्यालयहरूले श्रमिक र रोजगारदाता दुवैलाई कानुनबारे जानकारी गराउने, कानुन कार्यान्वयनमा सहजीकरण गर्ने तथा कमजोरी देखिए सुधार गराउने कामलाई प्राथमिकतामा राख्नुपर्ने मन्त्री यादवले बताए ।
मन्त्री यादवका अनुसार गत आर्थिक वर्षमा मात्रै ३ हजार ८३० वटा प्रतिष्ठानको निरीक्षण, ३ हजार ६३५ वटा बालश्रम निरीक्षण र २२० वटा श्रमिक आपूर्तिकर्ता कम्पनीको निरीक्षण गरिएको छ। सो अवधिमा ७६१ वटा श्रम विवादसमेत समाधान गरिएको उनले जानकारी दिए।
नवनिर्मित भवनबाट श्रम तथा रोजगार कार्यालयको सेवा प्रवाह अझ प्रभावकारी, सहज र व्यवस्थित हुने विश्वास व्यक्त गर्दै मन्त्री यादवले कार्यालयलाई श्रमिक र रोजगारदातामैत्री सेवा प्रवाहमा केन्द्रित हुन आग्रह गरे।
विराटनगर ३ मदननगरमा निर्माण गरिएको भवन ५ कराेड ३६ लाखमा निर्माण गरिएको कार्यालय प्रमुख निरज देवले बताए ।