पूर्वाञ्चल खबर
विराटनगर /रातो बङ्गला फाउन्डेसनको आयोजनामा विराटनगरमा आजदेखि गुणस्तरीय शिक्षासम्बन्धी दुईदिने कोशी प्रदेशस्तरीय सम्मेलन सुरु भएको छ ।
सम्मेलनको उद्घाटन कोशी प्रदेशकी सामाजिक विकासमन्त्री गीता तिम्सिनाले गरिन् । ‘गुणस्तरीय बाल शिक्षा किन र कसरी ?’ भन्ने मूल विषयमा केन्द्रित सम्मेलनमा कोशी प्रदेशका १४ वटै जिल्लाबाट शिक्षा क्षेत्रका ३०० भन्दा बढी सरोकारवालाको सहभागिता रहेको छ ।सम्मेलनमा विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि, प्रभावकारी शिक्षण विधि, बालमैत्री विद्यालय निर्माण तथा शैक्षिक अनुभव र असल अभ्यास आदानप्रदानका विषयमा छलफल हुने रातो बङ्गला फाउन्डेसनकी अध्यक्ष शान्ता दीक्षितले जानकारी दिइन् ।
उद्घाटन सत्रमा रातो बङ्गला स्कुलकी प्रधानाध्यापक मिलन दीक्षितले स्वागत मन्तव्य राखेकी थिइन् । सम्मेलनको पहिलो दिनको सत्रमा फाउन्डेसनकी अध्यक्ष शान्ता दीक्षित प्रमुख वक्ता रहेकी थिइन् भने प्रारम्भिक बाल शिक्षाको वर्तमान अवस्थाबारे रातो बङ्गला स्कुलकी कार्यकारी निर्देशक एलिना सुब्बाले सहजीकरण गरेकी थिइन् ।
सम्मेलनको दोस्रो दिनका प्रस्तुतकर्ताहरूमा रातो बङ्गला स्कुलकी शिक्षिका निभा मानन्धर, संयोजक जेनी मानन्धर, प्रधानाध्यापक मिलन दीक्षित, शिक्षण विभाग प्रमुख मिदेश महर्जन, प्रशिक्षक बन्दना उप्रेती र भावना सुवेदी रहेका छन् ।
कार्यक्रममा प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष टिकाराम पुरी, प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेत, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक कर्मचारीहरुको सहभागिता रहेको थियो ।
भोली एभरेष्ट कलेज परिसरमा बन्दसत्र सञ्चालन हुनेछ । बन्दसत्रमा प्रारम्भिक बाल शिक्षालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित रहने छ ।
व्यवस्थापकीय भूमिका निर्वाह गरेको एभरेष्ट स्कुलका प्रिन्सिपल टिकाराम पुरीले सम्मेलनले शिक्षण सिकाईमा एकरुपता ल्याउन तथा प्रभावकारी सिकाईमा सहयोग पुर्याउने विश्वास ब्यक्त गरे ।
नीजि तथा सामुदायिक सबै विद्यालयका शिक्षकहरु एक ठाउँमा बसेर गरिने यो सम्मेलनले प्रारम्भिक बाल शिक्षाको विकासमा ठूलो सहयोग पुग्ने उनको भनाई छ । रातो बंगला फाउण्डेसनले यस्तै सम्मेलन सात वटै प्रदेशमा गर्ने जनाएको छ । यस अघि हेटौडा र पोखरामा सम्पन्न भइसकेको फाउन्डेसनले जनाएको छ ।