विराटनगर / सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ सोमबारदेखि कोशी प्रदेशमा ‘सुरक्षित यात्रा’ अभियान सुरु गरिएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको समन्वयमा विराटनगर बसपार्कमा एक विशेष कार्यक्रमको आयोजना गरी उक्त अभियानको शुभारम्भ गरिएको हो ।
‘सुरक्षित यात्रा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ सुरु गरिएको यो अभियानको थालनी मोरङबाट गरिएको छ । कार्यक्रममा बोल्दै कोशी प्रदेश प्रहरी प्रमुख डीआइजी शेखर खनालले प्रदेशका विभिन्न जिल्लाहरूमा दिनानुदिन सवारी तथा सडक दुर्घटना भइरहेको र विगतको तुलनामा केही कमी आए पनि अपेक्षाकृत सुधार हुन नसकेको बताए ।
डीआइजी खनालले सडक दुर्घटनाबाट भइरहेको जनधनको क्षतिलाई रोक्न र दुर्घटना न्यूनीकरण गर्न कोशी प्रदेशका १४ वटै जिल्लामा लागू हुने गरी यो अभियान सुरु गरिएको स्पष्ट पारे । उनका अनुसार अभियानअन्तर्गत पर्चा पम्प्लेट वितरण, चालक तथा सहचालकलाई प्रशिक्षण, जनचेतनामूलक कार्यक्रम, जनपद र ट्राफिक प्रहरीको संयुक्त (ज्वाइन्ट) चेकजाँच तथा सीसीटीभी जडान लगायतका योजनाहरू चरणबद्ध रूपमा कार्यान्वयन गरिनेछ । सचेतनामूलक कार्यक्रम र कानुनी कारबाही (दण्ड जरिवाना) दुवैलाई सँगसँगै अघि बढाएर दुर्घटना न्यूनीकरण गर्नु अभियानको मुख्य उद्देश्य रहेको उहाँले बताए ।
डीआइजी खनालले दुर्घटनाका पछाडि मानवीय, यान्त्रिक र सडकको दुरावस्था जस्ता कारण रहे पनि प्रहरीको तथ्याङ्कअनुसार सबैभन्दा बढी दुर्घटना मानवीय लापरबाहीकै कारण हुने गरेको जानकारी दिए । “सवारी चालकको लापरबाही, मापसे तथा लापसे गरेर सवारी चलाउने प्रवृत्ति, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बिना नै सवारी चलाउनु, हेल्मेट र सिटबेल्ट प्रयोग नगर्नु जस्ता गतिविधि नै दुर्घटनाका मुख्य कारण हुन्,” उनले भने, “यस्ता गतिविधि निरुत्साहित गर्न कानुनी कारबाहीका साथै यो कानुनबमोजिम दण्डनीय अपराध हो र यसले जनधनको क्षति गर्छ भन्ने सचेतना फैलाउन खोजिएको हो ।”
अभियानमा कोशी प्रदेश सरकारको समेत सहयोग रहने उल्लेख गर्दै डीआइजी खनालले जनशक्ति व्यवस्थापनमा सवारी चालक, सहचालक, यातायात व्यवसायी, सर्वसाधारण तथा सरोकारवाला सबैलाई ‘बिना बर्दीको प्रहरी’ का रूपमा लिएको र सबैको साथ पाए जनशक्ति अभावको समस्या नआउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख एसपी दिपक गिरीले सडक सुशासन कायम गर्दै सवारी दुर्घटना न्यूनीकरण गर्न अभियान थालिएको बताए । “पछिल्ला वर्षहरूमा कोशी प्रदेशमा सवारी दुर्घटना बढ्दो क्रममा रहेको छ,” उनले भने, “मोरङबाट सुरु भएको यो अभियान अब प्रदेशका १४ वटै जिल्लामा सञ्चालन हुनेछ ।”
त्यसैगरी जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपानेले सवारी दुर्घटना न्यूनीकरणका लागि सुरु भएको सुरक्षित यात्रा अभियानलाई मोरङमा प्रभावकारी रूपमा कार्यान्वयन गरेर अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरे ।