RUMPUM
animated ellipse animated ellipse

मोबाइल चोरीको आरोपमा हत्या धम्की पाएका युवकको शव उखुबारीमा फेला

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ मंसिर २०८३, शुक्रबार १९:३१
3
Shares
विराटनगर /मोबाइल चोरीको आरोपमा केही युवाले हत्या गर्ने धम्की दिएको तीन दिनपछि विराटनगरमा एक युवकको शव उखुबारीमा फेला परेको छ ।

विराटनगर महानगरपालिका–४ इक्राहीका ३२ वर्षीय राजन दासको शव आज दिउँसो स्थानीय उखुबारीमा फेला परेको हो । तीन दिनदेखि परिवारको सम्पर्कमा नरहेका दासको शव प्रेम गौतमको खेतमा बलराम यादवले लगाएको उखुबारीभित्र घोप्टो परेको अवस्थामा भेटिएको मोरङ प्रहरीले जनाएको छ ।

शवको प्रकृति र शरीरमा देखिएका चोटपटकका आधारमा दासको हत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । उनको दाहिने कान, आँखा, अनुहारलगायत शरीरका विभिन्न भागमा चोट देखिएको छ । हातको एउटा औँला काटिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका अनुसार दासमाथि मोबाइल चोरीको आरोप लगाउँदै तीन दिनअघि केही युवा उनको घर पुगेका थिए । उनीहरूले दासलाई भेटे हत्या गर्ने धम्की दिएको जानकारी परिवारले प्रहरीलाई दिएको छ । उक्त घटनालाई प्रहरीले अनुसन्धानको मुख्य आधार बनाएको छ । यद्यपि, मोबाइल चोरीकै विषयमा हत्या भएको हो वा अन्य कारणले भन्ने खुलेको छैन ।

घटनास्थलमा मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालसहित फरेन्सिक चिकित्सक र प्रहरी टोलीले निरीक्षण गरेको थियो । हत्यामा संलग्नको पहिचान तथा खोजीका लागि तालिमप्राप्त कुकुरसहित विशेष टोली परिचालन गरिएको छ ।

प्रहरीको प्रारम्भिक अनुमानअनुसार दासको हत्या बिहीबार राति भएको हुनसक्छ । शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि कोशी अस्पताल पठाइएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

दास काठमाडौंमा रङ लगाउने काम गर्दै आएका थिए । छठ पर्वका समयमा घर आएका उनी तीन दिनदेखि सम्पर्कविहीन थिए । उनकी श्रीमती दुई वर्षदेखि वैदेशिक रोजगारीका क्रममा कुवेतमा छिन् । दासका १३ वर्षीया छोरी र १२ वर्षीय छोरा छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक लेखनाथ दाहाल नेतृत्वको टोलीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर