पूर्वाञ्चल खबर
विद्यार्थीका लागि भाडामा लिइएका दुई कोठा एक वर्षदेखि ब्राउन सुगर कारोबारका लागि प्रयोग भइरहेको खुलेको छ ।
लागूऔषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले आज ती कोठामा छापा मार्दा करिब एक सय ग्राम ब्राउन सुगर बरामद गरेपछि भारतीय नागरिकसहित तीन जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा भारतका मनोहरद यादव तथा सुनसरीको देवानगन्ज गाउँपालिका–२ यादव टोलका अरविन्द यादव र अनिल यादव छन् । प्रहरीले उनीहरूलाई बरामद लागूऔषधसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा अनुसन्धान अघि बढाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूले विराटनगर–११ मा दुईवटा कोठा भाडामा लिएर लामो समयदेखि लागूऔषधको कारोबार गर्दै आएका थिए । प्रारम्भिक अनुसन्धानमा भारतबाट मनोहरदले ब्राउन सुगर ल्याउने र विराटनगरमा अरविन्द र अनिलमार्फत प्रयोगकर्तासम्म पुर्याउने गरेको खुलेको छ ।
‘कोठाबाट ब्राउन सुगर फेला परेपछि थप अनुसन्धानका लागि तीन जनालाई नियन्त्रणमा लिएका हौँ,’ मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’
प्रहरीले लागूऔषध बरामद गरेको घर बेचन महेताको रहेको जनाएको छ । घरधनीले क्याम्पस अध्ययनरत विद्यार्थीलाई मासिक तीन हजार रुपैयाँ भाडामा कोठा दिएका थिए । विद्यार्थी बस्ने सामान्य डेराका रूपमा प्रयोग हुँदै आएको कोठाबाट लामो समयदेखि लागूऔषधको कारोबार भइरहेको खुलेपछि प्रहरीले कारोबारको सञ्जालबारे अनुसन्धान अघि बढाएको हो ।
प्रहरीले पक्राउ परेकाहरूको सम्पर्कमा रहेका व्यक्ति, भारतबाट लागूऔषध ल्याउने स्रोत तथा विराटनगरमा बिक्री हुने गरेको सञ्जालबारे समेत अनुसन्धान गरिरहेको जनाएको छ । बरामद ब्राउन सुगरको परीक्षण, पक्राउ परेकाहरूको बयान तथा अन्य प्रमाणका आधारमा थप व्यक्ति संलग्न भए–नभएको खुल्ने प्रहरीको भनाइ छ ।