पूर्वाञ्चल खबर
नारी स्रष्टा योगमायाको खोजी तथा अनुसन्धानमा सक्रिय अध्येता कविता चापागाईंको अगुवाइ तथा कुमार पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा वक्ताहरूले योगमायाको क्रान्तिकारी व्यक्तित्वबारे चर्चा गरे ।
कार्यक्रमका कोशी प्रदेश सभासद एवम् पूर्व मन्त्री भीम पराजुलीले योगमाया नेपालको मात्र नभएर विश्वकै अद्वितीय नारी योद्धा भएको उल्लेख गर्दै उनको त्याग र आदर्शलाई अन्तर्राष्ट्रिय स्तरमै स्थापित गरिनुपर्ने बताए ।
कार्यक्रममा योगमाया फाउण्डेसनकी सीता पौडेलले नारी मुक्ति, छुवाछूत र कुसंस्कारविरुद्ध योगमायाले चालेका साहसिक कदमहरूको चर्चा गरिन् । उनले योगमायाले ध्यान र तपस्या गरेका ऐतिहासिक स्थलहरूको संरक्षण गर्दै उनको योगदानलाई नयाँ उचाइमा पु¥याउन फाउण्डेसन निरन्तर लागिपरेको धारणा राखिन् । अध्येता कविता चापागाईंले योगमायाको क्रान्तिकारी इतिहासलाई जीवन्त राख्न र भावी पुस्तामाझ पु¥याउन कार्यक्रम आयोजना गरिएको प्रस्ट पारिन् ।
वि.सं. १९१७ असोजको अनन्त चतुर्दशीका दिन जन्मिएकी योगमायाले तत्कालीन जहानियाँ राणा शासन, सामाजिक विभेद र बेथितिविरुद्ध सशक्त विद्रोह गरेकी थिइन् । आफ्ना मागहरूको सुनुवाइ नभएपछि उनले वि.सं. १९९८ असार २२ गते आफ्ना ६७ जना अनुयायीसहित अरुण नदीमा फाल हानेर ऐतिहासिक ’जलसमाधि’ लिएकी थिइन् ।
कार्यक्रममा प्राज्ञ दिङ्लाली कान्छो, जनता नमूना माध्यमिक विद्यालय शंकरपुर विराटनगरका पूर्व प्रधानाध्यापक ईश्वर घिमिरेलगायतले योगमायाको दार्शनिक तथा विद्रोही चेतनाबारे प्रकाश पारेका थिए ।
सो अवसरमा सोमराज थापा (नेकपा एमाले मोरङ सचिव), पूर्वमन्त्री पराजुली, योगमाया न्यौपाने फाउण्डेसनकी अध्यक्ष यशोदा अधिकारी, रबिन भण्डारी, दिनेशराज सुवेदी, मीना जोशी, गुणराज खनाल, द्रोणाचार्य दहाल, कुमारप्रसाद पौडेल, घनश्याम पोखरेल, सावित्रा पोखरेल, भरतबहादुर बस्नेत, सुरेन्द्र चापागाईं, मिङ्मा कट्टेल, शोभा बस्नेत, पुनम राई, ऐश्वर्य चाम्लिङ राई, गोपाल निर्भीक, हरि कट्टेल, समृद्धि बस्नेत, गोविन्दवल्लभ चापागाईं तथा मल्लिका निरौलालगायतको उपस्थिति थियो । सहभागीहरूले योगमायाको प्रतिमामा माल्यार्पण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।