पूर्वाञ्चल खबर
दुई नेताबीच चपलीस्थित व्यवसायी रामेश्वर थापाको घरमा साढे चार घण्टा छलफलमा सहमति नजिक पुगेका छन् । माधवकुमार नेपाल पक्षका सांसदले दिने भनिएको राजीनामा तत्काललाई टरेको छ ।
छलफलमा नेता नेपालले ‘हामी दुईजना बीच कुराकानी हुँदा पार्टी भित्रकै विषयमा छलफल भएको बताए । फागुन २८ को निर्णय फिर्ता गर्ने र सर्वोच्चको फैसलाअनुसार पार्टी कमिटी २०७५ जेठ २ गतेको अवस्थामा फर्कने विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्दै जाने सहमति भएको नेता नेपालले बताए । उनले भने ‘आज सांसदहरुको राजीनामा दिने कुरा दुई चार दिनलाई र्टयो ।’ उनकाअनुसार अब एमाले विवाद समाधानतर्फ अघि बढेको छ । वैशाख ६ गते अघि सारेको ६ बुँदे प्रस्तावमाथि छलफल भएको थियो ।
नेपाल समूहले सर्वाेच्च अदालतको फागुन २३ गतेको फैलासले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि एमालेको पार्टी कमिटी पनि एकताअघिको अवस्था अर्थात २०७५ जेठ २ मा पुग्नुपर्ने माग गर्दै आएका छन् ।
फागुन २८ गते अध्यक्ष ओलीले आफू निकट नेताहरुको बैठकबाट नेताहरुको जिम्मेवारी हेरफेर, माओवादी केन्द्रबाट आएका नेताहरुलाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने निर्णय गरेपछि दुई समूहबीच फाटो बढ्दै गएको थियो ।
आज नेता नेपाल निकटका सांसदले विपक्षी गठबन्धनलाई सरकार निर्माणका लागि सजिलो हुने गरी राजीनामा दिने तयारी गरेपछि अध्यक्ष ओलीले नेता नेपाललाई फोन गरेर भेटको प्रस्ताव गरेका थिए ।
प्रधानमन्त्री ओली पदमुक्त भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि दिएको समय आज राति ९ बजे सकिँदैछ ।