आज विराटनगरस्थित कोइराला निवासमा पत्रकार सम्मेलन आयोजना गरी नेता डा. कोइरालाले गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीसहित केही दललाई मिलाएर नयाँ सरकार बन्ने जानकारी दिएका हुन् ।
“नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धनका सबै साझेदार दलहरू सँगसँगै रहेर नयाँ सरकार गठन हुन्छ,” नेता कोइरालाले भने, “चुनावको अन्तिम परिणाम आइसकेपछि कसरी सरकार बनाउने भन्ने विषयमा छलफल हुन्छ ।” निर्वाचनबाट केही नयाँ पार्टीहरू अस्तित्वमा आएको भए पनि उनीहरूको वैचारिक रुझान प्रष्ट नभइसकेकाले उनीहरूलाई गठबन्धनमा आवद्ध गर्ने विषयमा केही समय पर्खनुपर्ने उनले बताए ।
“नयाँ दलभित्र कसैले सेन्ट्रल टु राइट र केहीले सेन्ट्रल टु लेफ्ट भनेको विषय सार्वजनिक भएको छ,” उनले भने, “यो विषय प्रष्ट भएपछि कसरी जाने भन्ने कुरा होला ।” सातवटा राष्ट्रिय पार्टी भएको र थप एउटा पार्टी राष्ट्रिय पार्टी बन्ने सम्भावनाको निकट रहेकाले अन्तिम परिणाम आएपछि सरकार गठनको विषयले मूर्तरुप लिने उनको भनाइ थियो ।
कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने बताएका कोइरालाले भावी प्रधानमन्त्रीको बारेमा भने मुख खोलेनन् । “प्रधानमन्त्री हुने कुरा कसैले चाहना गरेर मात्र हुँदैन, त्यसका लागि पहिले दलको नेता बन्नुपर्छ, नेता बन्नका लागि नम्बरको गेम हुन्छ, जसले नम्बर पु¥याउँछ उही दलको नेता हुने र प्रधानमन्त्री हुन्छ भन्ने कुरा सबैले बुझ्नु पर्छ,” उनले भने, “अहिलेसम्मको परिणामलाई हेर्दा नम्बर सभापतिकै पक्षमा देखिन्छ, यी सबै कुरालाई हेरेर हामी एउटा निर्णयमा पुग्छौं ।”
प्रधानमन्त्री जो बने पनि सुशासन र भ्रष्टाचारका विरुद्धमा केन्द्रित भएर काम गर्नुपर्ने उनले बताए । “सुशासनबिना देशलाई अगाडि बढाउन सकिँदैन । अब भ्रष्टाचारको विरुद्धमा हामी अघि बढ्नुको विकल्प छैन,” उनले भने, “आफ्नै पार्टीका नेताहरूले गर्ने भ्रष्टाचारका विरुद्धमा पनि अब सदनमा कुरा उठाएर सुशासनको पक्षमा हामी सशक्त भूमिका खेल्छौं ।”
आम निर्वाचनबाट नेपाली कांग्रेसले अपेक्षा गरेअनुसारकै परिणाम प्राप्त गरको नेता कोइरालाले बताए । “मैले गठबन्धन गर्दै गर्दा नै कांग्रेसले ९० सिट वरिपरि मात्र नतिजा ल्याउँछ भनेको थिएँ, प्रत्यक्षमा ५५ देखि ६० र समानुपातिकमा ३२ देखि ३५ कै अपेक्षा थियो त्यसैअनुसार परिणाम प्राप्त हुने देखिएको छ,” उनले भने, “तर, कांग्रेसका नेता कार्यकताले अझ इमान्दारिताका साथ मिहिनेत गरको भए यो भन्दा राम्रो परिणाम आउँथ्यो ।”
तपाईको प्रतिक्रिया