खबर पूर्वाञ्चल
आज विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेदनको आयोजना गरी कार्कीले आफ्नो सय दिनको उपलब्धि सार्वजनिक गरेका हुन् ।
उनले सय दिनको उपलब्धिमा प्रदेशमा सर्वसम्मत सभामुख चयन भएको कुरा उल्लेख गरेका छन् । ‘प्रदेशमा राजनीतिक स्थिरताका लागि लामो समयदेखि नेतृत्वबिहिन बनेको प्रदेशसभामा सहमतीय संस्कार अनुसार सभामुख सर्वसम्मत निर्वाचित गरी जनताको आवाज मुखरित गराउन सफल भएका छौं,’ कार्कीले आफ्नो सय दिनको उपलब्धि सार्वजनिक गर्ने क्रममा भने ।
विराटनगरमा शैलजा आचार्य हृदयरोग केन्द्रको सञ्चालन, सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ११ पकलीमा एक सय शय्याको जलन अस्पताल निर्माणका लागि जनस्वास्थ्य सरोकार ट्रष्टसँग सम्झौता, प्रदेश सरकार मातहतका प्रादेशिक अस्पतालका साथै चार वटा निजी अस्पतालबाट १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सुरु लगायतका विषयलाई उनले सय दिनको उपलब्धिमा राखेका छन् ।
यस्तै प्रदेशको नामकरण भएदेखि आन्दोलनरत पहिचान पक्षधरको समस्या समाधानका लागि वार्ता समिति गठन भएको उनले बताए ।
‘अनुशासित चालक, सुरक्षित सडक’ अभियानको सुरुवात, उद्योग, व्यापारको दर्ता र नवीकरण सेवा अनलाइनबाट सुरु, मोरङको लेटाङ–बुधबारे २९.६० किलोमिटर रणनीतिक महत्वको सडक शिलान्यास गरी निर्माण काम सुरु, भूकम्पपीडितका लागि कर्णाली प्रदेश सरकारलाई एक करोड रुपैयाँ र राहत सामग्री हस्तान्तरण, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयद्वारा मोरङको विराटनगर, सुनसरीको इटहरी र झापाको सुरुङ्गा बजारमा ३ वटा विद्युतीय चार्जिङ स्टेशन सञ्चालन लगायतका विषय उपलब्धिमा समेटिएका छन् ।