AArya
animated ellipse animated ellipse

सूचीकृत स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन गराउन जोड

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ आश्विन २०८१, बुधबार १७:४२
180
Shares
विराटनगर / सुरक्षित गर्भपतनका लागि सूचीकृत स्वास्थ्य संस्थाबाट मात्र सेवा लिन स्वास्थ्यकर्मीले जोड दिएका छन् ।

विराटनगरमा स्वास्थ्य लाइभ मिडियाले आयोजना गरेको सुरक्षित गर्भपतनको लागि जवाफदेहीता विषायक मिडिया सचेतना कार्यक्रममा बोल्दै उनीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा कोशी प्रदेशकी स्वास्थ्य सचिव डा. राधिका थपलियाले सुरक्षित गर्भपतनका लागि प्रदेश सरकारले विशेष कार्यक्रम ल्याउने बताइन् । सुरक्षित गर्भपतनका लागि स्वास्थ्य संस्थाहरूको सूचीकृत र अनुगमनलाई प्रदेश सरकारले विशेष कार्ययोजना ल्याउने जानकारी दिइन् । सुरक्षित गर्भपतन गराउन सेवा लिन जान हिचकिचाउने गरेको सचिव थपलियाले बताइन् । यसमा प्रदेश सरकारले सचेतना फैलाउने काम गरिरहेको उनको भनाइ छ । ‘प्रेसक्रिप्सन बिना गर्भपतनको औषधि दिन नमिल्ने गरी अनुगमन गर्ने संयन्त्रको विकास गरेर अगाडी बढाउनु पर्दछ,’ उनले भनिन्, ‘स्वास्थ्य मन्त्रालयले सुरक्षित र सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न धेरै लगानी गरेको छ । तर लक्षित वर्गसम्म पुरÞ्याउन सकिएको छैन । यसमा सञ्चारकर्मीले विशेष भूमिका खेल्नुपर्छ ।’

कोशी प्रदेश स्वास्थ्य सेवा निर्देशनालय, धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले सुरक्षित गर्भपतनका लागि मिडियाको भूमिका महत्वपूर्ण रहेको बताए । असुरक्षित गर्भपतन रोक्न स्वास्थ्य निर्देशनालयले विशेष जोड दिएको सुनाउँदै यसका लागि मिडियाको विशेष सहयोग चाहिने बताए । स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. बालकृष्ण साहले सुरक्षित गर्भपतनमा जोड दिँदै सुरक्षित गर्भपतन गराउनु कुनै अपराध नभएको बताए । सुरक्षित गर्भपतन सेवा महिलाहरूको अन्य प्रजनन स्वास्थ्य समस्या वा बाध्यताको समाधान भएको साहको भनाइ छ ।

महिलाले आत्मसम्मानपूर्वक गुणस्तरीय, सर्वसुलव तथा पहुँचयोग्य सुरक्षित गर्भपतन सेवा प्राप्त गर्न सक्ने वातावरणको निर्माण गर्नुपर्ने डा. साहको भनाई छ । यसका लागि मिडियाको महत्वपूर्ण भूमिका रहने उनले बताए । गर्भपतन गर्नेमध्ये ५८ प्रतिशत महिलाले असुरक्षित गर्भपतन गराएको तथ्याङ्क प्रस्तुत गर्दै डा. साहले गर्भपतन सम्बन्धी सामाजिक लाञ्छना र भेदभाव कायम रहँदा यसमा चुनौती थपिएको बताए । सुरक्षित गर्भपतन सेवा सीमित स्वास्थ्य संस्थामा मात्र उपलब्ध भएको तथा सूचीकृत संस्थामा पनि सेवा नियमित नहुँदा सुरक्षित गर्भपतनमा चुनौती देखिएको उनको भनाइ छ । ‘सुरक्षित गर्भपतन सेवा स्वास्थ्यको प्राथमिकतामा नपर्नु पनि अर्को चुनौती हो,’ उनले भने, ‘गर्भपतनका औषधी जथाभावी सेवनले स्वास्थ्यमा जटिल समस्या आउन सक्छ ।’

स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले सुरक्षित गर्भपतनमा सबैले जोड दिनुपर्ने बताए । सुरक्षित गर्भपतनका लागि सञ्चार माध्यमले सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने उनको भनाइ छ । असुरक्षित गर्भपतन बढ्न नदिन सरोकारवाला निकायले ध्यान दिनुपर्ने डा. मेहताको भनाई छ । लिङ्ग पहिचान गरेर गर्भपतन गराउन समस्या आउने भन्दै साहले त्यस्तो प्रवृत्ति रोकिनु पर्ने बताए ।

विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख दिलिपकुमार यादवले सूचीकृत संस्थाबाट मात्र सुरक्षित गर्भपतन गराउनु पर्नेमा जोड दिए । विराटनगरको रानी अस्पताल गर्भपतनका लागि सूचीकृत र सुरक्षित गर्भपतन सेवा दिने स्वास्थ्य संस्था भएपनि जनशक्ति र उपकरण अभावले सेवा रोकिएको बताए ।

स्पष्ट कानुन र संरचना नहुँदा गर्भपतन सेवालाई विस्तार गर्न नसकिएको यादवले सुनाए । हेरिटेज अस्पाताल प्रालि र मेरिस्टोप्सले सुरक्षित गर्भपतन सेवा उपलब्ध गराउन निवेदन दिएपछि कानुनी स्पष्टता नहुँदा महानगरपालिकाले कुनै प्रक्रिया अगाडि बढाउन नसकेको उनको भनाइ छ । औषधिहरु जथाभावी विक्रीवितरण हुँदा पनि सुरक्षित गर्भपतनमा चुनौती थपिएको भन्दै यादवले त्यसलाई रोक्न मिडियाको पनि साथ चाहिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर