पूर्वाञ्चल खबर
नेपाल विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र सुपरभाइजर कबीर महर्जनलाई नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य विज्ञ सम्मिलित संयुक्त उद्धार टोलीले आज बिहान सुरुङबाट जीवितै बाहिर निकालेको हो ।
त्रिशूली–३ ‘ए’ आयोजनाका प्रमुख आवास ओझाका अनुसार दुवै जनालाई विद्युत् गृह पुग्ने सुरुङबाट उद्धार गरिएको हो । उद्धार गरिएको स्थानबाट विद्युत् गृहसम्मको दूरी भने सुरुङभित्रको अँध्यारोका कारण यकिन हुन सकेको छैन ।
“पावरहाउस पुग्ने बाटोमा दुवै जनालाई जीवितै भेटेर उद्धार गरिएको हो । पावरहाउसमा पुग्न अझै बाँकी छ,” ओझाले भने ।
उद्धारपछि सञ्जय साहको अवस्था सामान्य रहेको छ । स्वास्थ्य अवस्था स्थिर देखिए पनि थप परीक्षणका लागि उनलाई अहिले काठमाडौंस्थित छाउनीमा रहेको वीरेन्द्र सैनिक अस्पताल ल्याइएको छ ।
दोस्रोपटक उद्धार गरिएका कबीर महर्जनको भने अवस्था जटिल रहेको छ । उनलाई उद्धारलगत्तै छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरी सघन उपचार भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सुरुङभित्र अझै धेरै कर्मचारी रहेको आशंका
बाढीपछि आयोजनाभित्र ठूलो संख्यामा कर्मचारी तथा इन्जिनियर फसेको आशंका गरिँदै आएको छ । नेपाल विद्युत् प्राधिकरणले आयोजनाको सुरुङभित्र करिब ४२ जना इन्जिनियर तथा कर्मचारी फसेको अनुमान गरेको छ ।
उनीहरूमध्ये अधिकांश विद्युत् गृहभित्रै रहेको अनुमान गरिएको छ । उद्धार गरिएका सञ्जय साहले सुरुङभित्र रहेका सबैजना जीवित रहेको जानकारी दिएको आयोजना प्रमुख ओझाले बताए । तर, सुरुङभित्र यकिन कति जना छन् भन्ने अझै स्पष्ट हुन सकेको छैन ।
बाढी गएलगत्तै आयोजनाभित्र मानिसहरू फसेको आशंकामा उद्धार प्रयास सुरु गरिएको थियो । सुरुङभित्रको अवस्था, अँध्यारो तथा बाढीका कारण उद्धार टोलीलाई घटनास्थलसम्म पुग्न कठिनाइ भइरहेको थियो ।