AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

भाउजुको हत्या आरोपमा देवर बस्नेत पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ असार २०८२, मंगलवार १८:०७
126
Shares
विराटनगर / मोरङको रतुवामाई नगरपालिकामा भाउजुको हत्या आरोपमा देवर पक्राउ परेका छन् ।

दाजु भाइबीचको अंश विवादको कारण ६० वर्षीया महिला टिकामाया कार्की बस्नेतको हत्या भएको खुलेको हो ।

रतुवामाई नगरपालिका–६ की टीकामाया आफ्नै देवर ६९ वर्षीय टंकबहादुर बस्नेतको हातबाट मारिएको अनुसन्धानबाट पुष्टि भएको छ । प्रारम्भिक अनुसन्धानपछि प्रहरीले टंकलाई सोमबार दिउँसो आफ्नै घरबाट पक्राउ गरेको हो । हत्या गर्न प्रयोग गरिएको हँसिया पनि उनको घरमै लुकेर राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

टिकामायाको शव असार २१ गते दिउँसो आफ्नै बारीमा फालिएको अवस्थामा भेटिएको थियो । उनी बोली नआउने र इसाराले मात्र संवाद गर्ने शारीरिक अवस्था भएकी थिइन् । विराटनगरस्थित कोशी अस्पतालमा गरिएको पोष्टमार्टम रिपोर्ट अनुसार उनको टाउकोको पछाडि दायाँ भागमा गम्भीर चोट देखिएको थियो, जुन हँसियाको बिँडले प्रहार गरिएको पुष्टि भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् ।

इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरिक्षक होमप्रसाद अधिकारीको नेतृत्वमा गठन गरिएको टोलीले घटनाबारे विस्तृत अनुसन्धान थालेको थियो । अनुसन्धानक्रममा थाहा भएअनुसार मृतक टीकामायाका श्रीमान गणेशबहादुर बस्नेत र टंकबहादुरबीच वर्षौंदेखि अंश सम्बन्धी विवाद रहँदै आएको थियो । टंकले पुर्खौली सम्पत्ति एकलौटी गर्न खोजेपछि गणेश अदालत पुगेका थिए । अदालतले गणेशलाई पनि अंश पाउने फैसला गरेको थियो, जसले विवाद झनै चर्किएको थियो ।

प्रहरीका अनुसार गणेश र टंक फरक आमाका छोराहरू हुन । गणेश जेठी आमाका र टंक कान्छी आमाका छोराह हुन् । अंशमा भाग बाँडफाँट गर्नुपर्ने अवस्था आउँदा टंक असन्तुष्ट बनेका थिए । रिस र आक्रोशले भरिएका टंकले टिकामायालाई बारम्बार गालीगलौज र दुव्र्यवहार गर्ने गरेका थिए । असार २१ गते घाँस काट्न गएकी टीकामायामाथि हँसियाको बिँडले प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।

डिएसपी चुँडालका अनुसार टंकविरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गरेर अदालतबाट म्याद थप गरिएको छ । थप अनुसन्धान एवं कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर