AArya
animated ellipse animated ellipse

खड्का दम्पतीलाई गोबर बेच्न भ्याइनभ्याइ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ पुष २०८०, आईतवार ०७:४५
450
Shares
विराटनगर/ नेपालमा केही समयदेखि किसानले उत्पादन गरेको दूध बिक्री हुन सकेको छैन भन्ने समाचार आजको हाम्रोमत दैनिकमा उत्तम पोखरेलले लेखेका छन्।

खपत कम भएको भन्दै व्यवसायीले दूध किन्न आनाकानी गरिरहेका छन् । पछिल्लो समय उत्पादन भएको दूध बिक्री नहुँदा किसान मारमा परेको खबर देशैभरीबाट आइरहेको छ । करोडौँ मूल्य पर्ने दूधजन्य वस्तुहरू नबिकेको भन्दै डेरी उद्योगी व्यवसायीहरू सरकारसँग हारगुहार गरिरहेका छन् । किसानहरूले दूध बेचेको पैसा लामो समयदेखि पाउन सकेका छैनन् । अहिले दुग्ध संकलन केन्द्र तथा सहकारीहरूले नै दुई माउ गाई पालेका किसानलाई एउटा बेच्नका लागि आग्रह गरिरहेका छन् । दूध बिक्री नभएको भन्दै दूधको मूल्यसमेत घटाइएको छ ।

अहिले निजी डेरीहरूले सरकारले तोकेकोभन्दा कम मूल्यमा दूध किनिरहेका छन् । व्यवसायीले प्रतिलिटर १० रुपैयाँले मूल्य घटाएका छन् । साना तथा ठूला डेरी उद्योगहरूमा दुग्धजन्यवस्तु घिउ, पाउडर, पनिर ‘स्टक’मा रहे पनि बिक्री हुन नसकेको गुनासो हुँदै आइरहेको छ ।

कोशी प्रदेशका दुग्ध व्यवसायीहरू बजार खोज्दै बंगलादेशसम्म पुगेका छन् । तर दूध तथा दूधजन्य पदार्थ निर्यात भने हुन भएको छैन । उनीहरूले निर्यातको सहज वातावरण बनाउन सरकारलाई पनि आग्रह गरेका छन् । किसान र व्यवसायीको समस्यालाई बुझेर नै कोशी प्रदेश सरकारले पनि निर्यातमा अनुदान दिने कार्यक्रम ल्याएको छ ।

दूध तथा दूधजन्य पदार्थबाट बिक्री नभएपछि देशैभरीका किसानहरू पीडित भइरहेका बेला मोरङको उर्लाबारी–९ का राजीव खड्कालाई भने गोबर बेच्न भ्याइ–नभ्याइ छ । मेसिनमा गोबर पिसेर उनले प्राङ्गारिक मल बनाउने गरेका छन् । उनले घरमै उद्योग खोलेर प्राङ्गारिक मल बनाउने गरेका हुन् । मलबाट मल बनाएर अग्र्यानिक नगरपालिका बनाउने आफ्नो योजना रहेको उनले सुनाए ।

राजीव आफू पनि किसान हुन् । यसअघि उनले किसानी पेशा छोडेर वैदेशिक रोजगारीको सिलसिलामा कुवेत, कतार लगायतका देशमा झण्डै १५ वर्ष बिताएका थिए । । मासिक पाँच लाख रुपैयाँसम्मको कमाइ त्यागेर नेपालमै कृषिमा रमाइरहेका छन् अहिले उनी । उनलाई पत्नी हिमादेवी भट्टराईले साथ दिइरहेकी छिन् । त्यो त हिमादेवी पनि वैदेशिक रोजगारीमै थिइन् । परिवारसँग बसेर केही गनुपर्छ भन्ने इच्छाशक्तिका कारण स्वदेश फर्किएको हिमादेवीले बताउँछिन् ।

शुरूमा मासु तथा दूध उत्पादनमा जोडिएका खड्का दम्पतिले गोबरबाट मल बनाउन थालेको लामो समय भने भएको छैन । उनीहरूले परीक्षणकाल सकेर मल बजारमा पठाउन थालेका छन् । उनीहरूले आफन्त तथा छरछिमेकीहरूलाई मल दिएर पनि परीक्षण गरेका थिए । ल्याब र किसानहरू दुवैले राम्रो प्रतिक्रिया दिएको राजीवले जानकारी दिए ।

१५ जनालाई रोजगारी दिइरहेका खड्का दम्पतीले अन्य किसानहरूले पालेका गाईस्तुको गोबर पनि किनिदिने गरेका छन् । उनीहरूले प्रतिट्याक्टर दुई हजारमा किन्ने गरेका छन् । ‘आफ्ना फर्मबाट उत्पादन हुने गोबरले मात्रै पुग्दैन, अन्यत्रबाट पनि किनेर ल्याउनुपर्छ,’ राजीवले भने ‘माग बढेकोबढ्यै छ ।’

माग बढेसँगै कामको चाप भएको तर कामदार भने नपाउने गरेको समस्या उनले सुनाए । अहिले उनीहरूले उत्पादन गरको मल उर्लाबारी नगरपालिकाले समेत खरिद गर्न थालेको छ । ‘गोबरको माग थेग्नै गाह्रो भइरहेको छ । पूर्ति गर्ने कामदार पाइँदैन, यसले समस्या पैदा भइरहेको छ ।

पाँच किलोग्राम लिन आउने किसानले २०० किलोग्रामभन्दा बढी लाने गरेको राजीव बताउँछन् । ‘क्वान्टिटी’मा भन्दा ‘क्वालिटी’मा ध्यान दिने तर जनतालाई गोबर भनेर माटो नबेच्ने उनी बताउँछन् । भावी सन्ततिलाई बचाउन पनि माटो बचाउनुपर्ने उनको तर्क छ ।

‘माटोमा अम्लीयपन भएका कारण उत्पादनमा ह्रास आइरहेको सुन्ने गरेका छौ,’ राजीवले भने, ‘माटो बचाउन सकियो भनेमात्रै सन्ततिका लागि राम्रो हुन्छ । त्यसैले सन्ततिका लागि भए पनि माटो बचाउन आवश्यक छ ।’

माटोको उर्वराशक्तिका लागि प्राङ्गारिक पदार्थको भूमिका प्रमुख मान्ने गरिएको छ । कृषि प्राविधिकहरूको अनुभव तथा माटो प्रयोगशालाका नतिजाहरूले हाम्रो देशको माटोको उर्वराशक्ति कमजोर र घट्दो अवस्थामा रहेको कृषि प्राविधिकहरू बताउँछन् । माटोको उर्वराशक्ति राम्रो नहुनुका मुख्य कारण प्राङ्गारिक मलको प्रयोग घट्दै जानु भएको कृषि प्राविधिकको भनाइ छ ।

यसर्थ, रासायनिक मलभन्दा अग्र्यानिक मलमा जोड दिन राजीवले किसानहरूसँग आग्रह गर्ने गरेका छन् ।

राजीव र हिमादेवी मेहनती किसानका रूपमा नगरक्षेत्रभर परिचित छन् । उनीहरूले गाउँमै तीन बिगाहाभन्दा बढी क्षेत्रफलमा खर्चेर बाख्रा र गाईका लागि घाँससमेत लगाएका छन् । उनीहरूले बोयर, जमुनापारी, खरी र स्थानीय रैथाने जातका बाख्रा पालन पनि गरिरहेका छन् ।

कोरोना भाइरस संक्रमणको महामारीबाट विश्व नै आक्रान्त भएको समयमा उनीहरूले कृषि पेशा रोजेका थिए । करोडौँ रुपैयाँ लगानी गरेर उनीहरूले कृषि उद्योग चलाइरहेका छन् । उनीहरूले दैनिक १०० लिटरको हाराहारीमा दूध बेच्ने गरेका छन् । उनको फार्ममा भारतबाट ल्याएका उन्नत जातका गाई पनि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर