पूर्वाञ्चल खबर
मोरङको बुढीगंगा गाउँपालिका–५ मा रहेको रिजालको भान्सा ग्यास उद्योग प्रालिलाई जिल्ला प्रशासन कार्यालय मोरङले २ लाख ९५ हजार रुपैयाँ जरिवाना गरेको हो ।
साउन २७ गते वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय, गुणस्तर तथा नापतौल र जिल्ला प्रहरी कार्यालयको संयुक्त बजार अनुगमन टोलीले उक्त उद्योगको निरीक्षण गरेको थियो । निरीक्षणका क्रममा उद्योगले मानवीय जोखिम निम्त्याउने गरी म्याद नाघेका सिलिन्डर प्रयोग गरेको पाइएको हो ।
प्रशासनका अनुसार उद्योग परिसरमा रहेका १९ वटा रिफिल गरिएका सिलिन्डरहरूको तौल परीक्षण गर्दा एउटा सिलिन्डरमा निर्धारित तौलभन्दा २४० ग्राम कम ग्यास पाइएको थियो । अझ गम्भीर कुरा त, परीक्षण गरिएकामध्ये दुई वटा सिलिन्डरको म्याद गुज्रिसकेको भए पनि त्यसमा ग्यास भरेर, सिल लगाएर बिक्रीका लागि तयारी अवस्थामा राखिएको भेटिएको थियो ।
म्याद गुज्रेका ग्यास सिलिन्डर विस्फोट हुने उच्च जोखिम रहने हुँदा उपभोक्ताको ज्यान जोखिममा पारेको ठहर गर्दै प्रशासनले उपभोक्ता संरक्षण ऐन बमोजिम उद्योगलाई २ लाख ९५ हजार रुपैयाँ जरिवाना गरेको हो । म्याद नाघेका ती दुई सिलिन्डरको सिल तोडी ग्यास खाली गरेर नष्ट समेत गरिएको छ ।
अनुगमनमा असहयोग गर्नेलाई पनि जरिवाना
यसैबीच, अनुगमनकै क्रममा विराटनगर महानगरपालिका–३ स्थित कन्चनेश्वर ग्यास पसललाई पनि जरिवाना गरिएको छ । अनुगमन टोली पुग्दा जाँचबुझ र निरीक्षण कार्यमा असहयोग गरेको भन्दै उक्त पसललाई १५ हजार रुपैयाँ जरिवाना गरिएको प्रशासनले जनाएको छ ।
साउन २७ गते गरिएको उक्त आकस्मिक अनुगमनले ग्यास उद्योगहरूले सुरक्षा मापदण्ड र नापतौलमा गर्ने बदमासीलाई पुनः सतहमा ल्याइदिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले बजारमा हुने यस्ता अवैध र असुरक्षित कार्य रोक्न अनुगमनलाई थप तीव्र बनाउने चेतावनी दिएको छ ।