पूर्वाञ्चल खबर
बुधबार साँझ विराटनगर महानगरपालिका–९ महेन्द्रचोकस्थित एक्सपो एक्सप्रेस कुरियरमार्फत काठमाडौं पठाउन लागिएको स्पोर्ट्स सुजलाई विमानस्थलको एक्स–रे मेसिनबाट जाँच गर्ने क्रममा शंकास्पद वस्तु देखिएपछि सुरक्षा टोलीले पार्सल खोलेर हेर्दा जुत्ताको सोलभित्र कालो प्लास्टिकमा पोको पारेर राखिएको १८.४८ ग्राम ब्राउन सुगर फेला परेको हो।
एक्सपो एक्सप्रेस कुरियरमार्फत बुधबार साँझ ७ बजेतिर काठमाडौंको तारकेश्वर नगरपालिका मनमैजु निवासी अशोक विश्वकर्माका नाममा सेतो रङको खेलकुद जुत्ता (स्पोर्ट्स सुज) पठाउन खोजिएको थियो । उक्त पार्सल विराटनगर महानगरपालिका–४ स्थित विराटनगर विमानस्थलको एक्स–रे मेसिनबाट जाँच गर्ने क्रममा जुत्ताभित्र शंकास्पद वस्तु देखिएको थियो ।
घटनामा संलग्न रहेको आरोपमा विराटनगर–५ का २४ वर्षीय सुशान्त खड्कालाई प्रहरीले पक्राउ गरेको छ। उनी पार्सल विमानस्थलसम्म पुर्याउन पुगेका थिए। प्रारम्भिक अनुसन्धानका क्रममा उक्त पार्सल विराटनगरका राघव झाले काठमाडौं पठाउनका लागि खड्कालाई जिम्मा लगाएको खुलेको प्रहरीले जनाएको छ।
फरार रहेका झाको खोजी भइरहेको छ। मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार बरामद लागुऔषध र पक्राउ परेका खड्कामाथि जिल्ला प्रहरी कार्यालय मोरङमा थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा उक्त पार्सल विराटनगर निवासी राघव झाले काठमाडौं पठाउनलाई खड्काको जिम्मा लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले झाको खोजी गरिरहेको छ ।