पूर्वाञ्चल खबर
मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएको छ। उनको स्थानमा संखुवासभाका सिडिओ ईश्वरीप्रसाद अर्याललाई सुनसरी पठाइएको छ। त्यस्तै, सुरक्षा कमाण्डमा पनि ठूलो हेरफेर गरिएको छ। कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय काठमाडौं तानिएको छ। उनको ठाउँमा डीआईजी शेखर खनाललाई कोशी प्रदेशको जिम्मेवारी दिइएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केशव थेवेलाई पनि हटाइएको छ। उनलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा गरी त्यहाँ कार्यरत एसपी पुष्पराज मल्ललाई सुनसरीको कमाण्ड सुम्पिएको छ। यस्तै, सशस्त्र प्रहरी बल कप्तानगञ्जमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाएर उनको स्थानमा डीएसपी मदन नाथलाई पठाइएको छ।
घटनाको छानबिन र सुरक्षा अवस्था
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडपले उग्र रूप लिँदा गोली लागेर एक जनाको ज्यान गएको थियो। घटनामा ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी गरी कुल २४ जना घाइते भएका छन्। यस घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ। समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिइएको छ।
अनिश्चितकालीन कर्फ्यू
घटनापछि उत्पन्न तनावलाई नियन्त्रणमा लिन र थप अप्रिय घटना हुन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा आज बिहान ७ बजेदेखि नै अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। अहिले ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ र सर्वसाधारणलाई घरबाहिर निस्कन रोक लगाइएको छ।