पूर्वाञ्चल खबर
नेपाल चिया उत्पादक सङ्घका अनुसार, भारतीय चिया बोर्ड र वाणिज्य विभागले गत मे १२ तारिखमा जारी गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) ले नेपाली चिया निर्यातमा गम्भीर अवरोध सिर्जना गरेपछि उद्योगीहरूले यस्तो कडा कदम चाल्न बाध्य भएका हुन्।
सङ्घका केन्द्रीय अध्यक्ष आदित्य पराजुलीका अनुसार नेपालमा उत्पादित सिटिसी र अर्थोडक्स चियाको वार्षिक कारोबार १२ देखि १४ अर्ब रुपैयाँ बराबर हुने गरेको छ। जसमध्ये करिब ५ अर्ब रुपैयाँ बराबरको चिया भारत निर्यात भई विदेशी मुद्रा आर्जन हुँदै आएको थियो। भारतीय नयाँ नीतिका कारण यो निर्यात ठप्प भएको छ। यसअघि नै इलामका ५३ वटा अर्थोडक्स चिया उद्योगहरू असार १ गतेदेखि नै बन्द भइसकेका छन्।
भारतीय चिया बोर्डले लागू गरेको नयाँ प्रावधानअनुसार नेपालबाट निर्यात हुने तयारी चियाको नमुना परीक्षण रिपोर्ट आउन २० देखि २५ दिनसम्म लाग्ने गरेको छ। ‘भन्सार नाकाबाट निर्यात भएको चिया भारतीय खरिदकर्ताको गोदाममा थन्किन्छ, त्यसको नमुना परीक्षण रिपोर्ट ढिलो आउँदा चियाको गुणस्तरमा क्षति पुग्छ,’ अध्यक्ष पराजुलीले भने, ‘ल्याब रिपोर्टमा गुणस्तर कमजोर देखिए चिया नष्ट गर्नुपर्ने र गोदाम भाडा समेत उद्योगीले नै तिर्नुपर्ने अव्यवहारिक नियम थपिएको छ।’
डेढ महिनादेखि चिया निकासी हुन नसक्दा भारतीय खरिदकर्ताले समेत नेपाली चिया किन्न छाडेका छन्। यसले गर्दा उद्योगका गोदामहरूमा चिया भरिएको छ भने पठाएको चियाको पैसा आउने निश्चित छैन।
चिया निर्यात हुन नसक्दा उद्योगीहरूले किसानलाई हरियो पत्तीको मूल्य, विद्युत् महसुल र मूल्य अभिवृद्धि कर भ्याट जस्ता अनिवार्य दायित्व भुक्तानी गर्न नसक्ने अवस्था आएको छ। सङ्घका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले सरकारले तत्काल कूटनीतिक पहल गरी समस्या समाधान नगरेसम्म उद्योगहरू नखोलिने स्पष्ट पारेका छन्।
नेपाली चिया क्षेत्रमा देखिएको यो सङ्कट समाधानका लागि सङ्घले बुधबार जिल्ला प्रशासन कार्यालय झापामार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएको छ। सङ्घका अध्यक्ष पराजुलीको नेतृत्वमा गएको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेलाई ज्ञापनपत्र बुझाउँदै तत्काल भारतीय पक्षसँग वार्ता गर्न माग गरेको महासचिव शुक्र दाहालले जानकारी दिए।
जिल्लामा एउटा सरकारी र चारवटा सहकारीसहित कुल ३२ वटा चिया उद्योगहरू सञ्चालनमा छन्।