पूर्वाञ्चल खबर
जोगवनी हुँदै विराटनगर नाका भएर नेपाल प्रवेश गर्ने सबैले अबदेखि अनिवार्य रूपमा परिचयपत्र देखाउनुपर्ने व्यवस्था लागू गरिएको छ ।
सीमा सुरक्षालाई मजबुत बनाउन र अवैध गतिविधि तथा तस्करी नियन्त्रण गर्ने उद्देश्यसहित सुरक्षा निकायले सीमा क्षेत्रमा कडाइ गरेका हुन् । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल नेतृत्वको टोलीले शनिबार जोगवनी–विराटनगर सीमा क्षेत्रमा स्थलगत अनुगमन गर्दै नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।अनुगमनका क्रममा उनले सीमा नाकाबाट नेपाल प्रवेश गर्ने प्रत्येकले आफ्नो परिचय खुल्ने आधिकारिक कागजात अनिवार्य रूपमा देखाउनुपर्ने स्पष्ट निर्देशन दिएका हुन् । प्रशासनको यो कदमसँगै सुरक्षा निकायले सीमा क्षेत्रमा माइकिङ गर्दै परिचयपत्र अनिवार्य गरिएको जानकारी सर्वसाधारणलाई दिइरहेका छन् ।
तर, सुरक्षा स्रोतले दिएको जानकारी अनुसार प्रशासनले भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टी ९भाजपा०ले सरकार बनाएपछि त्यहाँबाट रोहिंगिया मुस्लिमहरु भागेर नेपाल छिर्न सक्ने आंकलन गरेको जनाएको छ ।
भारतीय भूमिबाट नेपाल प्रवेश गर्ने व्यक्तिहरूले आधार कार्ड, नागरिकता वा अन्य मान्य परिचयपत्र देखाउनुपर्ने व्यवस्था कडाइका साथ लागू गरिएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए । उनका अनुसार सीमा नाकामा बढ्दो आवागमन र अवैध कारोबारको जोखिमलाई मध्यनजर गर्दै निगरानी बढाएको हो ।
विशेषगरी जोगवनी नाका हुँदै दैनिक सयौंको संख्यामा सर्वसाधारण किनमेल, रोजगारी तथा अन्य कामका लागि नेपाल–भारत ओहोरदोहोर गर्ने भएकाले कडाइ आवश्यक भएको प्रजिअ कटेलको भनाइ छ । जोगवनी नेपाली उपभोक्तामाझ सस्तो बजारका रूपमा परिचित छ ।
सो क्रममा केही संरचनागत कमजोरी र सुरक्षामा जोखिम देखिएपछि उनले सीमा क्षेत्रमा रहेका खुला झ्याल तथा बाटोहरू बन्द गर्न निर्देशन दिएका थिए । सीमा क्षेत्रबाट भारततर्फ सजिलै आवतजावत हुने अवस्थाले सुरक्षा चुनौती बढाएको निष्कर्ष प्रशासनले निकालेको छ ।
सशस्त्र प्रहरी बलका अनुसार पछिल्लो समय एउटै व्यक्ति दिनमै तीन–चार पटकसम्म सीमाबाट ओहोरदोहोर गर्ने प्रवृत्ति देखिएको छ । यस्तो गतिविधिलाई शंकास्पद मान्दै उनीहरूलाई विशेष निगरानीमा राखिएको छ । विशेषगरी उपभोक्ता सामान खरिदका नाममा ठूलो मात्रामा सामान ओसारपसार गर्ने सम्भावनालाई रोक्न कडाइ गरिएको सुरक्षा अधिकारीहरूले बताएका छन् ।
सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरूले भारतबाट रेल तथा सडकमार्ग हुँदै आउने यात्रुहरूको पनि चेकजाँच गरिरहेका छन् । ल्याइएका सामानहरूको विवरण संकलन गरेर आवश्यक परे भन्सार प्रक्रियामा लैजाने व्यवस्था मिलाइएको छ । अवैध रूपमा सामान ल्याउने गतिविधि रोक्न निगरानी थप कडा बनाइएको एसपी कटवालको भनाइ छ ।
जोगवनी नाका नेपाल–भारतबीचको सबैभन्दा व्यस्त व्यापारिक तथा आवागमन केन्द्रमध्ये एक हो । यहाँ दैनिक ठूलो संख्यामा आवतजावत हुने भएकाले सुरक्षा व्यवस्थापन पनि चुनौतीपूर्ण बन्दै गएको छ । सीमा क्षेत्रमा देखा पर्ने अनेक समस्यालाई ध्यानमा राख्दै सुरक्षा सक्रियता बढाइएको हो ।
स्थानीय व्यवसायीहरूका अनुसार सीमा नाकामा कडाइ भए पनि उपभोक्तालाई भने केही असुविधा हुन सक्ने सम्भावना छ । तर, दीर्घकालीन रूपमा अवैध कारोबार नियन्त्रण गर्न र सीमा क्षेत्रको सुरक्षालाई मजबुत बनाउन यस्तो कदम आवश्यक रहेको उनीहरू स्वीकार गर्छन् ।
सुरक्षा निकायले सीमामा हुने गतिविधिलाई अझ व्यवस्थित र पारदर्शी बनाउन नागरिक सहयोग अपरिहार्य रहेको बताएको छ । परिचयपत्र अनिवार्य गर्ने निर्णयलाई कार्यान्वयनमा ल्याइएपछि सीमाक्षेत्रमा अनुशासन कायम हुने अपेक्षा गरिएको एसपी कटवालको भनाइ छ ।