दिल्ली / भारतको राजधानी दिल्लीमा शव जलाउनका लागि घाटको अभाव भएको छ । कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या बढेपछि दिल्लीमा घाटको अभाव भएको हो ।
दिल्लीका सबै घाट २४ सै घण्टा चलाउँदा पनि दाहसंस्कारका लागि घण्टौँ पर्खनुपर्ने भएपछि दिल्ली प्रहरीका अधिकारीले घाटका लागि नयाँ ठाउँ खोज्न सरकारसँग माग गरेका छन् । उपचारका लागि शय्या र अक्सिजन खोज्नुपर्ने तथा मृत्युपछि घाट पाउन मुस्किल भएपछि प्रहरी अधिकारीले थप घाटको व्यवस्था गर्न आग्रह गरेका हुन ।
दिल्लीमा एउटै घाटमा थुप्रै शव जलिरहेका र थुप्रै शव पालो पर्खिरहेका दुःखद दृष्यहरू अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छाएका छन् । भारतमा पछिल्लो २४ घण्टामा ज्यान गुमाएका तीन हजार पाँच सय जनामध्ये दिल्लीका मात्रै चार सयभन्दा धेरै छन् । तर भारतीय सञ्चारमाध्यमले घाटमा जलेका शव हेर्दा त्यो सङ्ख्या निकै धेरै हुने बताइरहेका छन् । यस्तै भारतकै बिहार राज्यमा पनि घाटको सङ्ख्या बढाइएको छ ।पटना नगर निगमले शवको सङ्ख्या बढ्दै गइरहेका बेला अन्त्येष्टिका लागि शवदाह गृहको सङ्ख्या बढाएको हो । भारतमा पछिल्लो २४ घण्टामा तीन लाख ८६ हजार चार सय ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो अहिलेसम्म कुनै पनि देशमा एकै दिन पुष्टि भएको सङ्क्रमितको सबैभन्दा ठूलो सङ्ख्या हो ।
तपाईको प्रतिक्रिया