पूर्वाञ्चल खबर
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता ३६ वर्षीय साहको उदयले परम्परागत राजनीतिक शक्ति संरचनामा नयाँ तरंग पैदा गरेको छ ।
शीतल निवासस्थित राष्ट्रपति भवनमा दिउँसो १२ः३४ बजे शपथग्रहण कार्यक्रम तय गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनीयताको शपथ गराउनेछन् ।
राष्ट्रपति कार्यालयका अनुसार समारोहलाई विशेष सांस्कृतिक र धार्मिक विधिबाट सम्पन्न गरिनेछ । ७ वटा शंखबाट शंखनाद, १०८ जना बटुकद्वारा स्वस्ती वाचन र १६ जना बौद्ध भिक्षुद्वारा अष्टमंगल पाठ गरिने कार्यक्रम तय गरिएको छ ।
शपथ ग्रहणलगत्तै साहले दिउँसो २ः१५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदबहाली गर्ने कार्यक्रम रहेको छ । त्यही क्रममा प्रारम्भिक मन्त्रिपरिषद् गठनको प्रक्रिया समेत अघि बढ्ने अपेक्षा गरिएको छ ।
हिजो मात्रै रास्वपाले साहलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गरेको थियो । पार्टी सभापति रवि लामिछानेले उनको नाम प्रस्ताव गरेका थिए । रास्वपाले दलको नेता बनाएपछि उनी प्रधानमन्त्री बन्ने संवैधानिक बाटो खुलेको हो ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले स्पष्ट बहुमत हासिल गर्दै १८२ सिट जितेको थियो । सोही निर्वाचनमा साह झापा क्षेत्र नम्बर ५ बाट ६८ हजार ३४८ मतसहित विजयी भएका थिए । उनले पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गर्दै राष्ट्रिय राजनीतिमा आफ्नो प्रभाव स्थापित गरेका थिए ।
नेपालको संविधान २०७२ को धारा ७६ (१) अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त दलको नेताले प्रधानमन्त्री बन्ने व्यवस्था छ । रास्वपाको स्पष्ट बहुमतका कारण सरकार गठन प्रक्रिया सहज बनेको हो ।
स्वतन्त्र उम्मेदवार भएर काठमाडौं महानगरपालिकाका मेयरका रूपमा उदाएका साहको यात्रा अहिले देशको सर्वोच्च कार्यकारी पदसम्म पुगेको छ । २०७९ सालको स्थानीय तह निर्वाचनमा मेयर बनेपछि उनले प्रशासनिक सुधार, भ्रष्टाचारविरुद्धको कडा अडान र सेवा प्रवाहमा देखाएको सक्रियताले उनलाई राष्ट्रिय स्तरमा लोकप्रिय बनाएको थियो ।
उनको नेतृत्वमा बन्ने सरकारप्रति अहिले व्यापक अपेक्षा गरिएको छ । आर्थिक सुधार, सुशासन, संघीय संरचनाको प्रभावकारी कार्यान्वयन र अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलनजस्ता जटिल विषयमा उनले कस्तो रणनीति अपनाउँछन् भन्ने चासो बढ्दो छ ।
आजको शपथसँगै नेपालले औपचारिक रूपमा नयाँ राजनीतिक अध्यायको सुरुवात गर्नेछ । युवा नेतृत्व, नयाँ सोच र फरक कार्यशैलीको दाबी गर्दै आएका शाह अब परीक्षणको नयाँ चरणमा प्रवेश गर्दैछन् । उनको नेतृत्व क्षमता समग्र राष्ट्रको दिशानिर्देशनसँग जोडिनेछ ।