AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा पहिलोपटक ‘घर निर्माण प्रदर्शनी’ हुँदै, ७५ बढी स्टल रहने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ चैत्र २०८२, बिहीबार १७:५२
36
Shares
विराटनगर / उद्योग संगठन मोरङले विराटनगरमा पहिलोपटक ‘घर निर्माण प्रदर्शनी’ (सीआईएम होम बिल्ड एक्स्पो ) आयोजना गर्ने भएको छ ।

आगामी चैत १२ देखि १६ गतेसम्म विराटनगरस्थित जैन भवनमा सञ्चालन हुने उक्त प्रदर्शनीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजकले निर्माण क्षेत्रको समग्र विकास, प्रवर्द्धन र सहकार्य विस्तारका लागि यो कार्यक्रम कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै संगठनका अध्यक्ष नन्दकिशोर राठीले निर्माण क्षेत्र नेपाली अर्थतन्त्रको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यस क्षेत्रलाई थप चलायमान बनाउन र स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न प्रदर्शनी आयोजना गरिएको बताए । उनले ‘बिजनेस टु बिजनेस’ (बी टु बी) तथा ‘बिजनेस टु कन्जुमर’ (बी टु सी) सम्बन्धलाई मजबुत बनाउँदै लक्षित बजार विस्तार गर्ने उद्देश्य रहेको स्पष्ट पारे ।

प्रर्दशनी संयोजक सुरेन्द्र गोल्छाका अनुसार निर्माण क्षेत्रसँग सम्बन्धित सम्पूर्ण मूल्य शृङ्खलालाई एउटै छानामुनि ल्याउने प्रयास स्वरूप यो एक्स्पो आयोजना गरिएको हो । “उत्पादक, सेवा प्रदायक, डिजाइनर, नीति निर्माता र उपभोक्ताबीच प्रत्यक्ष संवाद र सहकार्यका लागि यो एउटा महत्वपूर्ण मञ्च हुनेछ,” उनले भने ।

प्रदर्शनीमा घर निर्माणसँग सम्बन्धित कच्चा पदार्थदेखि अन्तिम सजावटसम्मका विभिन्न उत्पादन तथा सेवाहरू प्रदर्शन गरिनेछन् । जसमा सिमेन्ट, इँटा, स्टिल, वाटरप्रुफिङ, इन्सुलेसन, पाइप, फिटिङ, स्यानिटरी सामग्री, विद्युतीय उपकरण, सौर्य ऊर्जा प्रणाली, स्मार्ट होम प्रविधि, लिफ्ट, साउन्डप्रुफिङ र सुरक्षा प्रणाली लगायतका सामग्री प्रमुख आकर्षण रहनेछन् ।

यसैगरी, मोड्युलर किचन, वार्डरोब, ढोका(झ्याल, हार्डवेयर, पेन्ट, फ्लोरिङ, फर्निसिङ तथा इन्टेरियर डिजाइनसम्बन्धी सेवाहरू पनि प्रदर्शनीमा समेटिनेछन् । निर्माण सेवा अन्तर्गत ठेकेदार, परियोजना व्यवस्थापक, उपकरण भाडा सेवा, निर्माणसम्बन्धी सफ्टवेयर तथा स्वचालन प्रविधि प्रस्तुत गरिनेछ । बैंक तथा बीमा कम्पनीहरूले वित्तीय तथा बीमा सेवाबारे जानकारी दिनेछन् । प्रदर्शनीमा ७५ भन्दा बढी स्टल रहनेछन् ।

“सुरक्षित घर, स्मार्ट जीवन” भन्ने नाराका साथ आयोजना हुने यस प्रदर्शनीमा आधुनिक प्रविधि र दिगोपनलाई प्राथमिकता दिइएको छ । घर निर्माणका क्रममा देखिने छत चुहिने समस्या, धमिरा तथा कीरा नियन्त्रण, पुराना भवनको जीर्णोद्धार, सामग्री छनोट र निर्माण मापदण्डबारे विज्ञहरूले मार्गदर्शन गर्नेछन् । प्रदर्शनी अवधिभर प्रत्येक दिन दुई घण्टाका विशेष सत्रहरू सञ्चालन गरिनेछन् ।

प्रदर्शनीमा वास्तुशास्त्र कर्नर, इन्टेरियर मोक अप तथा नवप्रवर्तन क्षेत्रहरू रहनेछन्, जहाँ आगन्तुकले प्रत्यक्ष अनुभव लिन सक्नेछन् । बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन हुने प्रदर्शनीमा सबैका लागि प्रवेश निःशुल्क गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर