पूर्वाञ्चल खबर

ओलीले सामाजिक सञ्जालमार्फत व्यक्त गरेको भनाइमा युद्धको विभीषिका, भूराजनीतिक टकराव र शक्तिराष्ट्रहरूको स्वार्थका कारण सामान्य नागरिकले भोग्नु परेको पीडाप्रति गम्भीर चिन्ता प्रकट गरिएको छ । ‘मध्यपूर्वी देशहरू माथिको आकाशबाट बर्सिएका मिसाइलको धुवाँको दृश्यले आज निद्रा परेको छैन’ भन्दै उनले सुरु गरेको अभिव्यक्तिमा ती देशमा रहेका लाखौं नेपाली अप्ठ्यारो र कोलाहलको बीचमा रहेको उल्लेख छ ।
विभिन्न खाडी मुलुक, इजरायल लगायत मध्यपूर्वका देशहरूमा ठूलो संख्यामा नेपाली कामदार कार्यरत छन् । पछिल्लो समय क्षेत्रीय तनाव चुलिँदै जाँदा त्यहाँ बसोबास गर्ने नेपालीहरू प्रत्यक्ष वा परोक्ष रूपमा प्रभावित हुन सक्ने चिन्ता बढेको छ ।
कतिपय स्थानमा हवाई आक्रमण, रकेट प्रहार तथा सुरक्षा सतर्कता बढाइएका समाचार बाहिरिएका छन् । ओलीले आफ्नो सन्देशमा भनेका छन्, ‘ती देशमा लाखौं नेपाली अप्ठ्यारो र कोलाहलमा छन् । तिनका परिवारले यहाँ पलपल छट्पटाएर बस्नु परेको छ ।’
उनले युद्धलाई अस्वाभाविक र खतरनाक अवस्था भन्दै खुला विश्व व्यवस्थामा अवसर खोज्दै विभिन्न देशमा पुगेका नागरिकहरूलाई भूराजनीतिक द्वन्द्वले असुरक्षित बनाएको उल्लेख गरेका छन् । उनको भनाइमा विश्व आज सीमाविहीन अवसरको युगमा प्रवेश गरिसकेको छ, जहाँ मानिसहरू काम, अध्ययन र व्यवसायका लागि देश–देशान्तर जानु स्वाभाविक हो ।
‘आज संसारभर संसारकै नागरिक छन्,’ उनले भनेका छन्, ‘किनकि अवसर छनोटको खुला विश्वमा यो स्वाभाविक हो । तर, अस्वाभाविक र खतरनाक कुरा त युद्ध हो, भूराजनीतिक चपेटा हो ।’ ओलीले प्रत्यक्ष रूपमा कुनै देश वा शक्ति राष्ट्रको नाम उल्लेख नगरे पनि शक्तिको स्वार्थ घुसेपछि देशहरू विवश हुनुपर्ने अवस्था आएको संकेत गरेका छन् ।
‘ती देशहरू पनि पक्कै युद्ध चाहँदैनथे । तर, शक्तिको स्वार्थ घुसेपछि विवश हुनुपर्ने’ भन्ने उनको भनाइले विश्व राजनीति र शक्तिसन्तुलनप्रति आलोचनात्मक दृष्टिकोण प्रकट गर्छ । नेपाल स्वयं शान्तिपूर्ण परराष्ट्र नीतिमा विश्वास गर्ने मुलुक भएको सन्दर्भ उल्लेख गर्दै ओलीले आफूले मिसाइलको धुवाँ देख्न नपरेकोमा सौभाग्य मानेका छन् ।
‘सौभाग्यबस् हामीले यस भूमिमा मिसाइलको धुवाँ भोग्नु परेको छैन । मेरो प्रार्थना छ—कुनै पनि आवरणमा त्यो आउन नसकोस्,’ उनले लेखेका छन् । उनको यो अभिव्यक्ति सामाजिक सञ्जालमा व्यापक रूपमा साझा भइरहेको छ ।
समर्थकहरूले उनलाई संवेदनशील र राष्ट्रप्रेमी नेताका रूपमा प्रशंसा गरेका छन् भने कतिपयले सरकारसँग समन्वय गरेर ठोस पहलका लागि दबाब दिनुपर्ने सुझाव दिएका छन् । कतिपयले भने जेनजी आन्दोलनमा मान्छे मारिँदा निद्रा लागेको थियो कि थिएन ? भनेर प्रश्न उठाएका छन् ।
मध्यपूर्वी क्षेत्र विश्व अर्थतन्त्र, ऊर्जा आपूर्ति र सामरिक महत्वका कारण सधैं संवेदनशील मानिन्छ । त्यहाँ उत्पन्न हुने सानो तनावले पनि विश्व बजार, तेलको मूल्य र वैदेशिक रोजगारीमा असर पार्ने गर्छ । नेपालजस्तो श्रम निर्यातमा निर्भर देशका लागि त्यहाँको स्थिरता अत्यन्त महत्वपूर्ण मानिन्छ ।
युद्धको जोखिम बढ्दै जाँदा परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयले पनि त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे नियमित जानकारी संकलन गरिरहेको जनाएको छ । दूतावासहरूलाई उच्च सतर्कतामा राखिएको र आवश्यक परे आपतकालीन उद्धार योजना अघि बढाइने सरकारी स्रोतको भनाइ छ ।
ओलीले आफ्नो सन्देशको अन्त्यमा धैर्य, विवेक र साहसको आवश्यकता औंल्याएका छन् । ‘आज तपाईंहरूलाई पलपल छट्पटी भइरहँदा म निदाउन सकिनँ । बेचैन छु,’ उनले उल्लेख गरेका छन्, ‘यसबेला हाम्रो सजगता चाहिन्छ । धैर्य चाहिन्छ । विवेक, धैर्य र साहसको कामना गर्छु ।’
उनको यो भावनात्मक सन्देश राजनीतिक अभिव्यक्ति मात्र नभई विदेशमा रहेका नेपाली श्रमिक र तिनका परिवारप्रतिको चिन्ताको अभिव्यक्ति भएको विश्लेषकहरू बताउँछन् । नेपालले विगतमा पनि विभिन्न देशमा द्वन्द्व चुलिँदा आफ्ना नागरिकको उद्धार गरेको थियो । तर, प्रत्येक नयाँ संकटसँगै चुनौतीहरू फरकफरक स्वरूपमा देखा पर्छन् ।
यस्तो अवस्थामा राजनीतिक दलहरूबीच सहकार्य, सरकारको कूटनीतिक सक्रियता र दूतावासहरूको प्रभावकारी समन्वय अत्यावश्यक रहने विश्लेषकहरुको भनाइ छ । मध्यपूर्वको आकाशमा उठेको धुवाँले हजारौं किलोमिटर टाढा बसेका नेपालीका मनमा पनि अशान्ति ल्याएको छ । रोजगारीको खोजीमा परदेशिएका छोराछोरी, श्रीमान्–श्रीमती र आफन्तको सुरक्षाका लागि यहाँका परिवारले दिनरात प्रार्थना गरिरहेका छन् ।
युद्धको गर्जनबीच शान्तिको कामना गर्दै व्यक्त गरिएको ओलीको सन्देशले कम्तीमा एउटा साझा भावना प्रकट गरेको छ, ‘नेपालले शान्ति चाहन्छ, स्थिरता चाहन्छ र आफ्ना नागरिक सुरक्षित रहून् भन्ने आकांक्षा राख्छ ।’ विश्व राजनीति जहाँसुकै मोडिँदै गए पनि नेपालीहरूको साझा चाहना आकाशमा मिसाइलको धुवाँ होइन, सुरक्षित भविष्यको उज्यालो देख्न पाइयोस् भन्ने छ ।