पूर्वाञ्चल खबर
विराटनगर / मोरङको विराटनगरमा सुधार गृह पठाउने तयारी गरिएका एक युवकको हतियार प्रहारबाट तीन जना घाइते भएका छन् ।
विराटनगर महानगरपालिका–१, अनुकरण मार्गस्थित मोहन भट्टराईको घरमा डेरा गरी बस्ने २९ वर्षीय रुबिण कार्कीले धारिलो हतियार प्रहार गर्दा तीन जना घाइते भएका हुन् ।प्रहरीका अनुसार आज दिउँसो करिब साढे तीन बजे कार्कीलाई ‘साथीभाइ नेपाल सुधार गृह’ काठमाडौं पठाउने तयारी भइरहेको थियो । सोही क्रममा उनले कोठा थुनेर आत्महत्याको प्रयास गरेपछि घटनाबारे प्रहरीलाई जानकारी गराइएको थियो ।
सूचना प्राप्त हुनासाथ सिआरभी भट्टाचोकबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । सुधार गृहका प्रतिनिधि, आफन्त र प्रहरीले कोठाभित्र रहेका कार्कीलाई सम्झाइ–बुझाइ गर्ने प्रयास गरिरहेका थिए । सोही क्रममा कार्कीले आफू सुत्ने बेडमा लुकाएर राखेको धारिलो हतियार अचानक निकालेर प्रहार गरेका थिए ।
आक्रमणबाट स्थानीय भोजराज रेग्मी, हिमाल घिमिरे र सन्तोष सापकोटा घाइते भएका छन् । उनीहरुको टाउकोमा सामान्य चोट लागेको छ । घाइतेहरूको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ ।
घटनास्थलमा आवश्यक समन्वय र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी नायब उपरीक्षक सन्तोष श्रेष्ठ र वडा प्रहरी कार्यालय विराटनगरबाट प्रहरी निरीक्षक बेनु कार्की नेतृत्वको टोली घटनास्थलमा पुगेको छ ।