AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पार्टी सभापति रवि पक्षधरलाई झापा–५ मा ‘बाइपास’ गर्दै बालेन , नेता कार्यकर्ताको पसिनामाथि लोकप्रियताको राजनीतिमा हाबी बालेन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ फाल्गुन २०८२, मंगलवार ०७:४५
54
Shares
विराटनगर / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले पार्टी सभापति रवि लामिछाने पक्षधरलाई झापा–५ मा ‘बाइपास’ गर्दै हिडेकोमा कार्यकर्ता रुष्ट भएका छन् । झापा ५ का स्थानिय रास्वपाका नेता कार्यकर्ताको पसिनामाथि लोकप्रियताको राजनीतिमा बालेन हाबी रहेको कार्यकर्ता बताउँछन् ।

फागुन २१ गतेको निर्वाचनका लागि यही क्षेत्रबाट उम्मेदवारी दिएका रास्वपाका वरिष्ठ नेताबालेनले अपनाएको ‘सुटुक्क’ घरदैलो र सीमित घेराभित्रको निर्णय प्रक्रियाले भने पार्टीभित्रै गम्भीर असन्तोष जन्माएको छ । उनी पार्टी सभापति लामिछाने पक्षधर तथा २०७९ सालदेखि संगठन खडा गर्दै पसिना बगाइरहेका पुराना नेता कार्यकर्तालाई योजनाबद्ध रूपमा ‘बाइपास’ गर्दै अघि बढिरहेका छन् ।बालेनले झापा ५ मा खोलेको कार्यलयमा पार्टी सभापति लामिछानेको तस्वीरसमेत न राखेपछि स्थानिय नेता कार्यकर्ताको असन्तुष्टि बढ्दै गएको रहेको दमकमा संस्थापक नेताहरुले बताएका छन् ।

यो बहसलाई सतहमा ल्याउने मुख्य तथ्य २०७९ सालको निर्वाचन परिणाम हो । २०७९ को समानुपातिक र प्रत्यक्षतर्फकै मतपरिणामले झापा–५ मा रास्वपाको मजबुत उपस्थितिलाई दर्साउँछ । विगतकै मतपरिणाम, संगठन निर्माण र नेता कार्यकर्ताको सक्रियता हेरेर झापा–५ लाई आफ्नो चुनावी मैदान बनाएका बालेनबाट रवि पक्षधर भने बेवास्ताको सिकार भइरहेका छन् । नेता कार्यकर्ताले पार्टी र संगठनमा बगाएको पसिनामाथि लोकप्रियताको राजनीति हाबी हुँदा रास्वपाभित्र तीव्र रूपमा असन्तुष्टि बढेको छ ।

२०७९ मा झापा–५ बाट प्रत्यक्षतर्फ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली ५२ हजार ३१९ मतसहित विजयी हुँदा रास्वपाका उम्मेदवार सुरेशकुमार पोखरेल ११ हजार ७५९ मतसहित तेस्रो भए । प्रत्यक्षतर्फ तत्कालीन नेपाली कांग्रेस–नेकपा (माओवादी केन्द्र) गठबन्धन दोस्रो भएको थियो । गठबन्धन उम्मेदवार खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत प्राप्त गरेका थिए ।

तर, समानुपातिकतर्फको तस्बिर फरक थियो । ३५ हजार ८७२ मत प्राप्त गरेर एमाले पहिलो पार्टी बन्दा रास्वपा १८ हजार २०५ मतसहित दोस्रो शक्ति बनेर उदायो । समानुपातिकमा कांग्रेस १६ हजार ८५९ मतसहित तेस्रो हुँदा माओवादी केन्द्रले ८ हजार ६८० र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ७ हजार ३७० मत प्राप्त गरेका थिए ।

त्यही समानुपातिक मतले झापा–५ मा रास्वपाको वास्तविक ‘ग्राउण्ड’ देखायो । प्रत्यक्षमा उम्मेदवार तेस्रो भए पनि समानुपातिकतर्फ पार्टी दोस्रो शक्ति थियो । यसले स्थानीय संगठन एवं सक्रियता, रवि लामिछानेको ‘क्रेज’ र नयाँ राजनीतिक विकल्पको सन्देशले उल्लेखनीय मताधारको अर्थ बोकेको देखाउँछ । यो ओलीको प्रभाव क्षेत्रमा छोटो अवधिमै रास्वपाले उत्कृष्ट फड्को मारेको राजनीतिक विगत हो ।

त्यसपछि अढाई वर्षसम्मको मिहिनेतबाट विस्तार भएको संगठन र राजनीतिक कार्यक्रम एवं अभियान तथा स्थानीयस्तरको सञ्जाल विस्तारले यो आधार अझ मजबुत भएको दाबी नेता कार्यकर्ताको छ । त्यही पृष्ठभूमिमा ओलीसँग भिडाउने भन्दै बालेनलाई झापा–५ मा उतारिएको विश्लेषण छ । ‘जहाँ पार्टीको आधार तयार थियो, त्यहाँ लोकप्रिय अनुहार उतारेर ‘सुरक्षित’ जित निकाल्ने रणनीति हो,’ एक नेता भन्छन् ।

तर, यहीँबाट विवाद सुरु हुन्छ । २०७९ मा उम्मेदवार बनेका तथा अहिले रास्वपाको कोशी प्रदेश सदस्य एवं कानुन विभाग प्रमुख रहेका सुरेशकुमार पोखरेल पछिल्लो समय खुला असन्तुष्टिको स्वर बनेका छन् । उनी भन्छन्, ‘२०७९ मा मैले ल्याएको प्रत्यक्षतर्फको मत र पार्टीले प्राप्त गरेको समानुपातिक मत हेर्नुहोस् । समानुपातिकमा रास्वपा यहाँ दोस्रो थियो । त्यो मत कसरी आयो रु संगठन, कार्यकर्ता, घरदैलो, रवि लामिछानेको नेतृत्व र हामीजस्ता कार्यकर्ताको पसिनाले हो । आज त्यही आधारमाथि उभिएर बालेन आएका छन् । तर, उनैले हामीलाई ‘बाइपास’ गरिरहेका छन् ।’

पोखरेलले बालेन अवसरवादी भएको टिप्पणी गरे । ‘मैले टिकट पाउनुपर्छ भन्ने हैन । तर, हिजो दुःख गरेर पार्टी उकासेकालाई शत्रुजस्तो व्यवहार गरिएको छ,’ उनले भने । पोखरेलका अनुसार २०७९ को प्रत्यक्ष र समानुपातिक मत, त्यसपछि थपिएको समर्थन, संगठन विस्तार र जनतामा जगाइएको आशाका कारण ‘रास्वपाबाट उठ्दा झापा–५ मा जसले पनि जित्ने’ अवस्था थियो । उनी थप्छन्, ‘त्यही अवसर खोजेर बालेन आएका हुन् । काठमाडौंमा जोखिम देखिएपछि जित्ने आकलन गरेर झापा रोजे ।’

रास्वपाले पहिलोपटक चुनावमा भाग लिँदा पार्टीलाई उत्कृष्ट परिणाम दिलाउन सफल भएका पोखरेल अहिले चुनावी चर्चा र अभियानमा मौन छन् । उनीजस्ता कैयौं नेता कार्यकर्ता चुनावी अभियानमा सामेल छैनन् । उनीहरु बालेन शैलीप्रति रुष्ट बनेका छन् । पोखरेलले भने, ‘देशभरिबाट साथीहरुले पार्टी छाड्ने क्रम तीव्र भएसँगै चिन्ता बढाएको छ । यो सबैले देखिरहनु भएको छ । नेताहरुको चरित्र र व्यवहार त्यति राम्रो भएन । जान्नेलाई छान्ने भनिएको छ । तर, अवसरवादीलाई जान्ने भनेर भन्ने कि विभिन्न ठाउँबाट उछिट्टिएकालाई रु मैले कुरा बुझिरहेको छैन ।’

बालेनसँगै सती जाने नाममा पार्टीबाट देश, जनता र झापा–५ का मतदातामाथि अन्याय भइरहेको प्रष्ट हुने पोखरेलको भनाइ छ । ‘पुराना नेता कार्यकर्तालाई बालेन आएपछि शत्रुको जस्तो व्यवहार गरिएको छ । विभिन्न किसिमका अवसरवाद र चलखेलले काम गरिरहेको देखिन्छ,’ उनी भन्छन्, ‘यसले देश, जनता र पार्टीलाई संकटमा पार्छ । बालेनका नाममा झापा–५ का मतदातामाथि ठूलो घात हुँदैछ ।’

बालेनको नाम बेचेर जनतालाई ठूलो भ्रममा पारिएको बताउँदै पोखरेलले मतदाताको आशामाथि घात गर्नु देशलाई बर्बादीतिर लैजानु भएको बताए । ‘पार्टी हाँक्नेहरुको मानसिकता, व्यवहार, सोच र चरित्र सुध्रिएन भने देश ठूलो संकटमा फस्छ । यो सबैले बेलैमा बुझ्न जरुरी छ । आम नागरिकले नेताहरुमाथि दबाब सिर्जना गर्नुपर्छ,’ पोखरेलले भने ।

पुरानालाई पाखा लगाउँदै ‘लागेको फल खान’ बालेन आएको उनको तर्क छ । ‘बालेन साह केपी ओलीलाई ‘डाउन’ गर्न आएका हैनन् । लडिसकेको केपी ओलीलाई लडाएको देखाउन र जनतामा भ्रम छर्न आएका हुन् । यो कुरा सचेत नागरिकले बुझिसकेका छन् । हामी बुझाउँदै पनि छौं । यहाँको भूगोल नै नबुझेका बालेन झापालाई माया गर्न आएकै हैनन् भनेर झापा–५ ले बल्ल बुझ्दैछ,’ पोखरेल भन्छन् ।

बालेनका नाममा पछिल्लो समय जनतालाई दिग्भ्रमित पार्ने काम भइरहेको र देशलाई समस्यामा पार्ने गतिविधि तीव्र बनेको भन्दै पोखरेलले चिन्ता व्यक्त गरे । ‘जनतालाई साह्रै मजाले दिग्भ्रमित बनाइएको छ । काठमाडौंमा हार्ने आकलन गर्दै ‘चुनाव जितिहालिन्छ’ भनेर बालेनले झापामा पाइला टेकेका हुन् । यो कुरा सबैले बुझेर देशलाई ठूलो भुमरीमा फस्नबाट जोगाउनुपर्छ,’ उनले भने ।

झापा–५ आएका बालेनले रवि पक्षधरलाई ‘बाइपास’ गरेर अघि बढ्ने कुरा व्यक्तिमाथिको नभएर देश एवं जनतामाथिकै प्रहार एवं अन्याय भएको पोखरेलको भनाइ छ । ‘बालेनको रवैया देखेर बुझ्ने धेरै साथीहरुले पार्टी छाड्नु भयो । धेरैको छाड्ने तयारी छ । म त अहिले पार्टी छाड्ने अवस्थामा छैन । चरित्रविरुद्ध पार्टीभित्रै संघर्ष गरिरहेको छु । जनतालाई सुसूचित गराउँदै अघि बढ्नुपर्ने अवस्था छ,’ उनले भने । पोखरेलले झापा–५ मा संगठन विस्तारदेखि पार्टीलाई हुर्काउने, बढाउने र फैलाउने मुख्य भूमिका निर्वाह गरेका थिए ।

‘यो क्षेत्रमा अहिलेसम्म पाइलै नटेकेका बालेन ‘टुरिस्ट’ बनेर आए । मेयरमा जिताउने काठमाडौंलाई बेवास्ता गर्ने उनले झापाको एकरति माया गर्दैनन्,’ पोखरेलले भने, ‘अवसर खोज्दै हिँड्ने व्यक्तिले राष्ट्रमाथि ठूलो घात गर्छन् । त्यसको उदाहरणका रुपमा जेनजी आन्दोलनलाई हेरे पुगिहाल्छ ।’ उनको भनाइले भदौ २३ र २४ गते जेनजी आन्दोलनको आवरणमा भएको अराजक एवं अपराधिक गतिविधिबाट पुगेको क्षतिको मुख्य जिम्मेवार बालेन नै हुन् भन्ने संकेत गर्छ ।

बालेनको शैली पनि विवादको केन्द्रमा छ । अघिल्लो आइतबार झापा आएका उनी सोमबार र मंगलबार ‘सेड्युल’ सार्वजनिक नगरी घरदैलोमा निस्किए । सचिवालयका सीमित सदस्य र सुरक्षाकर्मीका साथ टोलटोल पुगे । मंगलबार दिउँसो काठमाडौं फर्किए । अहिले पुनः झापा आएर चुनावी अभियानमा सक्रिय छन् ।

सचिवालयका एक सदस्य भन्छन्, ‘सेड्युल सार्वजनिक गर्दा फोटो र भिडियो खिच्नेहरूको मात्रै भिड हुन्छ । वास्तविक मतदातासँग कुरा गर्न पाइँदैन । अहिले हाम्रो प्राथमिकता फोटो सेसन होइन, मतदातासँग साक्षात्कार हो ।’ यो तर्क रणनीतिक हिसाबले आकर्षक देखिए पनि संगठनात्मक हिसाबले विवादास्पद बनेको छ ।

पार्टीका क्षेत्रीय सभापति भेषराज भट्टराई भन्छन्, ‘खबर गरेर जाँदा भिडभाड हुन्थ्यो । त्यही भएर उहाँ ९बालेन० प्रायः हल्ला नगरिकन मतदाता भेटघाटमा निस्किनु हुन्छ ।’ झापा–५ मा बालेनले नै चुनाव जित्ने उनको दाबी छ । ‘हाम्रो चान्स ७३ प्रतिशतभन्दा बढी छ । अरुले त नचिताए पनि हुन्छ,’ उनले भने, ‘माथिबाट धेरै कुरा नबोल्नु भनेर आदेश आएको छ । हाम्रोमा धेरै बोल्न मिल्दैन । गाह्रो छ ।’ बालेनको शैलीले पुराना नेता कार्यकर्ताको भावनामा भने ठेस पुगेको हुनसक्ने भट्टराईले स्वीकार गरे । उनको भनाइले पनि पार्टीभित्र निर्णय प्रक्रियामा केन्द्रीकरणसँगै संवादको अभाव देखाउँछ ।

नेता कार्यकर्ताहरुका अनुसार रास्वपाका पुराना कार्यकर्ता बलेनको रोजाइमा परेका छैनन् । ‘केही सीमित व्यक्तिलाई लिएर हिँड्छन् । क्षेत्रमा बसेर लामो समयदेखि दुःख गर्नेहरुलाई पाखा लगाउने काम भइरहेको छ,’ रास्वपाका एक कार्यकर्ताले भने, ‘प्रायः भिडले घेरिने र पुराना नेता कार्यकर्तालाई नसमेटिकन अघि बढ्ने बालेनको शैलीले झापा–५ मा पार्टीभित्र तीव्र मतभेद सिर्जना गरेको छ । अरुलाई बेवास्ता गर्ने र आफू ‘सेलिब्रेटी’ बन्ने रबैयालाई यो क्षेत्रले रुचाइरहेको छैन ।’

रास्वपाभित्रको असन्तुष्टि टिकट र रणनीतिमा मात्रै सीमित नभएर प्रतीकात्मक राजनीतिमा पनि छ । झापा–५ को सम्पर्क कार्यालयमा पार्टी सभापति रवि लामिछानेको तस्बिर नराखिएको विषयले बहस चर्काएको छ । कार्यालयमा राष्ट्रिय झण्डा ओढेर नमस्कार गरेको बालेनको तस्बिर मात्रै छ । बालेन पक्षधर यसलाई ‘व्यक्ति पूजाको अन्त्य’ र ‘नयाँ राजनीतिक संस्कार’ भन्छन् ।

प्रायः रास्वपा कार्यालयमा सभापति लामिछानको फोटो राखिएको हुन्छ । पार्टी कार्यालयका संस्थापक सभापतिको फोटो राख्ने अभ्यास नै छ । रविको फोटो राख्नुपर्ने स्थानीय नेता कार्यकर्ताको मागलाई भने बालेनले बेवास्ता गरिरहेका छन् । रवि पक्षधरका लागि यो संस्थापक नेतृत्वलाई ‘बाइपास’ गर्ने सन्देश बनेको छ । ‘रास्वपाको पहिचान रविसँग जोडिएको छ । त्यो पहिचानलाई किन ओझेलमा पार्ने रु पार्टीमा त अवसर खोज्दै आएका व्यक्ति पो हाबी हुने सम्भावना बढ्यो,’ एक कार्यकर्ताले भने ।

अर्कोतर्फ, पार्टीभित्र ‘जेनजी आन्दोलन’को छाया पनि देखिन्छ । भदौ २३ गते स्कुले नानीहरूमाथि सुरक्षाकर्मीले गोली प्रहार गरेको र भदौ २४ गते देशभरका सरकारी संरचनामा आगजनी एवं तोडफोड भएको घटनामा बालेनको भूमिकालाई लिएर आरोप प्रत्यारोप चलिरहेको छ । विभिन्न हिसाबले बहसहरु भइरहेका छन् ।

भदौ २३ गते शान्तिपूर्ण रहेको विद्यार्थीको आन्दोलनमा घुसपैठ गरेर भिडलाई संसद भवन तोडफोड गर्न उक्साएको र गोली चलाउनुपर्ने वातावरण बनाएको आरोप पनि बालेनले खेपिरहेका छन् । भदौ २४ गते उनकै उक्साहटमा देश जलाइएको विषयमा पनि बहस भइरहेको छ । यद्यपि, त्यतिबेला सरकारमा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक थिए ।

रवि पक्षधरहरू भन्छन्, ‘त्यो घटनाबाट पाखालिन मेयर पदबाट राजीनामा दिँदै सांसद भएर प्रधानमन्त्री बन्न बालेन तम्सिएका हुन् । अहिले जनताले संसद, सिंहदरबार, सर्वोच्च अदालतलगायतका संरचनामा किन आगो लगाएको रु देश किन जलाएको रु भनेर प्रश्न गरिरहेका छन् । बालेनसँग त्यसको जवाफ नै छैन ।’ बालेन पक्षधर भने यी आरोपलाई राजनीतिक रूपमा अतिरञ्जित ठान्छन् । तर, आरोपको सत्यता भन्दा पनि पार्टीभित्र बनेको धारणा अहिले महत्त्वपूर्ण बनेको छ ।

उता एमाले पनि निष्क्रिय छैन । एमालेले भावी प्रधानमन्त्रीका रुपमा अघि सारेका पूर्वप्रधानमन्त्री ओली स्वयं घरदैलोमा सक्रिय छन् । स्थानीय नेताहरू ओलीको सक्रियतासँगै एमालेको माहोल सुधारिएको बताउँछन् । बालेनको अभियानमै खटिएका रास्वपाका क्षेत्रीय प्रतिनिधि परिषद् सदस्य भरत खनालको एमाले प्रवेशले पनि सन्देशात्मक प्रभाव पारेको छ । बालेनको बेवास्ता र रहस्यमय शैली तथा पार्टीप्रति बढ्दो वितृष्णा, नेताहरुको गलत चरित्र एवं रबैया र आर्थिक अपारदर्शिताकै कारण रास्वपा छाडेको खनाल बताउँछन् । यो प्रकरणबाटै झापा–५ मा रास्वपाभित्रको असन्तुष्टि बाहिर चुहिएको हो ।

झापा–५ मा नेपाली कांग्रेसकी मन्धरा चिमरिया, नेकपाका रञ्जित तामाङ र श्रम संस्कृति पार्टीका समीर तामाङलगायतका उम्मेदवार मैदानमा छन् । तर, चर्चा ओली र बालेनकै धेरै भइरहेको छ । मुख्य प्रतिस्पर्धा बालेन र ओलीबीच केन्द्रित देखिन्छ । २०७९ को समानुपातिक मतले सम्भावना प्रस्ट पारेको दोस्रो शक्ति रास्वपा अहिले आन्तरिक असन्तुष्टिमा अल्झिएको देखिन्छ ।

स्थानीय नेताहरू भन्छन्, ‘सुरुमा बालेन आउँदा असाधारण उत्साह देखिएको थियो । सेल्फी, भिड, प्रतीक्षा सबै थियो । तर, अहिले त्यो ‘क्रेज’ क्रमशः घट्दै गइरहेको छ । बालेन ठीक मान्छे हैनन् र अवसरकै खोजीमा रहेछन् भन्ने अनुभूति हुँदैछ ।’ बालेनप्रति ‘क्रेज’ घट्दै जानुमा रवि पक्षधरलाई बेवास्ता गरेर एकलौटी रूपमा अघि बढ्नुको परिणाम भएको उनीहरु बताउँछन् ।

रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेको छ । तर, रवि पक्षधर भन्छन्, ‘पार्टी खोल्ने, यहाँसम्म ल्याउने भूमिका रविकै हो । पार्टी माथि पुगेपछि भर्खर प्रवेश गरेका बालेनलाई प्रधानमन्त्री बनाउने निर्णय ठीक थिएन ।’ बालेन पक्षधर भने नेतृत्व परिवर्तन र नयाँ अनुहारमार्फत राष्ट्रिय राजनीति पुनर्संरचना गर्ने समय आएको दाबी गर्छन् ।

समग्रमा झापा–५ को कथा २०७९ को समानुपातिक मतबाट सुरु भएर अहिलेको आन्तरिक संघर्षसम्म आइपुगेको छ । समानुपातिकमा दोस्रो शक्ति भएर रास्वपाले बनाएको आधारमाथि अहिले ‘लोकप्रिय’ अनुहारलाई उभ्याइएको छ । तर, त्यही आधार निर्माण गर्ने पुराना नेता कार्यकर्ताले भने ‘बाइपास’मा परेको अनुभूति गरिरहेका छन् । संगठनात्मक असन्तुष्टिलाई सममयै सम्बोधन गर्न नसकिए पार्टीको अवस्था नाजुक भएर जाने चेतावनी उनीहरुले दिइरहेका छन् ।

झापा–५ को मतपेटिकाले उम्मेदवारको जितहार निर्धारण गर्ने मात्रै नभएर रास्वपाको आन्तरिक लोकतन्त्र र भविष्यको राजनीतिक दिशाको पनि सन्देश दिनेछ । बालेनको ‘बाइपास’ रणनीति नयाँ राजनीतिक संस्कारको प्रयोग कि संगठनात्मक असन्तोषको जोखिमपूर्ण जुवा हो रु भन्ने कुराको छिनोफानो हुन अब धेरै दिन छैन ।

राजनीतिक विश्लेषक गिरिश भट्टराई समानुपातिकतर्फ दोस्रो भएको शक्ति एकताबद्ध हुन नसक्दा यसअघि जागेको आशा स्वयं पार्टीभित्रैबाट क्षीण हुने बताउँछन् । ‘राजनीति ‘ग्रासरुट’बाट आउनुपर्छ भन्ने विश्वास गरिन्छ । राजनीतिशास्त्रको मान्यता पनि यही हो । तर, हिजोका दिनमा दुःख गरेर पार्टीलाई एउटा ठाउँमा पुर्याएका पुराना मान्छे किनारा लाग्नु शुभ संकेत हैन । तलबाटै सबै परिस्थिति एवं भूगोल र जनाधार बुझेको राजनीतिकर्मीलाई पाखा लगाउँदा दलीय राजनीतिप्रति वितृष्णा बढ्छ,’ उनले भने ।

बेवास्ताको कोपभाजनमा पर्दा पुरानाले अबदेखि पार्टीका लागि किन काम गर्ने रु भन्ने प्रश्न उठ्ने भट्टराईको भनाइ छ । ‘यसले समग्र पार्टीलाई ठूलो क्षति गर्छ । एकअर्काप्रति विश्वास हराउँछ र तिक्तता बढाउँछ । पार्टीको नेतृत्वले तल्लो तहलाई मिलाउन र व्यवस्थापन गर्न नसक्नु राजनीतिशास्त्रको मान्यताविपरीत हो । त्यसले राजनीतिक दल र त्यसको नेतृत्वलाई नै हानि गर्छ । दलमा लागेर आफ्नो ऊर्जा खर्चिएकालाई बेवास्ता गर्दा गलत सन्देश जान्छ,’ उनले भने ।

अर्का राजनीतिक विश्लेषक एवं उपप्राध्यापक नवराज पाण्डे प्रजातान्त्रिक पद्धतिमा कुन नेताले कोसँग प्रतिस्पर्धा गर्ने भन्ने निर्णय सम्बन्धित दलले गर्नुपर्ने राजनीतिशास्त्रको सिद्धान्त रहेको बताउँछन् । ‘प्रतिनिधिसभा प्रतिनिधित्व गर्ने कुरा हो । सम्बन्धित भूगोल बुझेकोले उम्मेदवार बनेर चुनाव जित्दा मात्रै प्रभावकारी प्रतिनिधित्व हुन्छ । तर, कतिपय अवस्थामा आवश्यकताको सिद्धान्त लागू हुन्छ । बालेनको हकमा त्यही भएको हो,’ उनले भने ।

अर्कोतर्फ पुरानोभन्दा फरक व्यक्ति आउनुलाई अन्यथा लिन पनि नहुने पाण्डेको तर्क छ । ‘मान्छेको आफ्नै कार्यशैली हुन्छ । तर, पार्टी अनुशासनमा रहेर चल्नुपर्ने कुरालाई बेवास्ता गर्न सकिँदैन । त्यो अर्थमा कोसँग कसरी समन्वय गर्ने भन्ने कुरा बालेनले नै बुझ्नुपर्छ,’ उनले भने, ‘चुनाव जित्नलाई स्थानीयस्तरमा बुझेकाको साथ र सहयोग एकदमै उपयुक्त हुन्छ । पुरानालाई ‘बाइपास’ गरेर अघि बढ्ने कुरा राजनीतिशास्त्रको सिद्धान्तसँग मेल खाँदैन । सबैलाई विश्वासमा लिएर अघि बढ्दा मात्रै फाइदा हुन्छ ।’ पाण्डेले पार्टी पंक्तिलाई बेवास्ता गर्दा परिणाम उल्टिने जोखिम रहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर