खबर पूर्वाञ्चल

तीन महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भवन पूर्ण रूपमा एसीसहित स्मार्ट कक्षाकोठा र आधुनिक प्रयोगशालाले सहितको भवन निर्माण हुने फाउण्डेसनका प्रिन्सिपल सीएम श्रेष्ठले जानकारी दिए । विराटनगरको गर्मी मौसमलाई ध्यानमा राख्दै सम्पूर्ण कक्षाकोठामा ‘फुल एसी’ जडान गरिनेछ प्रिन्सिपल श्रेष्ठले। ‘सुविधा सम्पन्न भौतिक पूर्वाधार र गुणस्तरीय शिक्षण पद्धतिबाट हामी फरक पहिचान स्थापित गर्ने तयारीमा छौं,’ उनले भने, ‘विद्यार्थी, अभिभावक र शुभेच्छुकबाट प्राप्त सकारात्मक साथले परियोजनालाई थप उत्साह मिलेको प्रिन्सिपल श्रेष्ठले बताए ।
’आउँदो शैक्षिकसत्रदेखि विज्ञान, कम्प्युटर साइन्स, व्यवस्थापन र होटल व्यवस्थापन संकाय सञ्चालन गर्ने योजना रहेको प्रिन्सिपल श्रेष्ठले बताए । पहिलो वर्षमै १ हजारदेखि १२ सय विद्यार्थी अट्ने क्षमताको पूर्वाधार निर्माण गरिँदैछ उनले भने। दीर्घकालीन रूपमा स्नातक तथा स्नानकोत्तर तह सञ्चालन गर्ने लक्ष्यसमेत संस्थाले सार्वजनिक गरेको छ ।
प्लस टु सञ्चालनका लागि विराटनगरका १० भन्दा बढी प्रतिष्ठित संस्थागत विद्यालयका प्रिन्सिपलसहित २९ जनाको समूहले संयुक्त लगानी गरेको प्रिन्सिपल श्रेष्ठले जानकारी गराए । यसले स्थानीय शैक्षिक क्षेत्रमा सहकार्यको नयाँ मोडेल प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा प्याब्सन मोरङकी पूर्वअध्यक्ष सावित्री पराजुलीले सुविधा सम्पन्न संरचनासहित नयाँ शैक्षिक संस्था सञ्चालन हुनु विराटनगरका लागि गौरवको विषय भएको बताइन् । उनले सक्षम नेतृत्व र अनुभवी टिमका कारण संस्था कोशी प्रदेशमै उदाहरणीय बन्न सक्ने विश्वास व्यक्त गरिन् ।
त्यस्तै, प्याब्सन मोरङका अर्का पूर्वअध्यक्ष विनोदबाबु भट्टराईले विराटनगर अब अध्ययनका लागि बाहिरी सहर धाउनुपर्ने बाध्यता क्रमशः अन्त्य हुँदै गएको उल्लेख गर्दै गुणस्तरीय पूर्वाधार र दक्ष जनशक्तिमार्फत सञ्चालन हुने संस्थाले समग्र शैक्षिक वातावरणलाई प्रतिस्पर्धी र सुदृढ बनाउने धारणा राखे ।
निजी क्षेत्रको बढ्दो लगानी, आधुनिक पूर्वाधार र विविध संकाय विस्तारसँगै विराटनगर क्षेत्रीय शैक्षिक गन्तव्यका रूपमा उकासिँदै गएको संकेत यो परियोजनाले पुनः पुष्टि गरेको छ ।